बझाङ । बझाङ चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा मंगलबार सर्वपक्षीय छलफल हुँदै थियो, जहाँ सम्झनाका हजुरबा गोरखबहादुर कामी पनि थिए । ‘हामी गरिब छौँ, तर मेरी नातिनीको हत्यारा समातिएर पनि उम्कने हुन् कि भन्ने डर छ, जसरी हुन्छ न्याय दिनुहोस्,’ उनी हात जोडेर गुहार माग्दै थिए । तर, यसो भन्दाभन्दै उनी भिडकै बीचमा भक्कानिए । आँसु पुछे र एकछिनपछि आंशकापूर्ण भावमा भने, ‘निर्मला पन्त बलात्कार र हत्याको घटनामा पनि दोषी उम्किए, सजाय पाएनन्, मेरी नातिनीको पनि त्यस्तै गुपचुप गर्दिन्छन् कि १’ बोहरा गाउँका टाढाबाठा र आफूहरूभन्दा धनी र पहुँचवाला भएका कारण प्रहरी र सरकारले न्याय नदिने हो कि भन्ने आशंका गोरखबहादुरको परिवारमा छ । उनको गाउँमा धेरै खेतीपाती गर्ने जमिन छैन । भएको आम्दानीले परिवारको दुई छाक टर्दैन । गोरखबहादुरले आरनमा हातहतियार तिखारेको आम्दानीले परिवार पालिएको छ । सम्झना गोरखबहादुरकी सबैभन्दा ठूली सहयोगी, ठूली नातिनी थिइन् ।
सम्झनाका बुबा ९३५० बिजुली कामी पहिले पनि कामका लागि भारत जान्थे । ठूलो परिवारको आर्थिक बोझ धान्न नसकेपछि उनी चार वर्षदेखि परिवारै लिएर भारतको बैंग्लोर बस्न थाले । ३२ वर्षे श्रीमती धौली कामी, छोरो र दुई छोरी उनीसँगै थिए । गाउँको घरमा ठूला तीन छोरी, बुबाआमा र बहिनी बस्छन् । ‘मेरी फूलजस्ती सम्झनालाई राक्षसले चुँडिदियो, ऊ मेरी सहारा थिई, घरको काम मात्रै होइन, मेलापातको काम पनि उसले आधा उकास्थी,’ गोरखबहादुर भन्छन् । उनी आफू बिरामी हुँदा पानी दिने नातिनी गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सक्दैनन् । ‘केही परिहाले नातिनी छँदै छ भनेर ढुक्क हुने दिन गए, राक्षसले हाम्रो खुसी चुँडिदियो,’ उनी भन्छन् । बोलाए मात्रै बोल्ने स्वभावकी थिइन् सम्झना । कक्षा–६ मा पढ्थिन् । उनको पढाइ पनि राम्रो थियो । बिजुलीले गरिबीका कारण ६ कक्षामाथि पढ्न पाएनन् । ‘छोरी घरमै हुँदा पढलेख गर्छे, आफूले गर्न पाइनँ भनेर यतै छाडेको थिएँ, तीनजना एउटै स्कुल पढ्थे,’ उनी भन्छन्, ‘तर, अचानक यस्तो खबरले मरुँ कि मारुँ रु भयो ।’ अवोध छोरीको हत्या भएको थाहा पाएपछि कोरोनाका कारण रोजगारी गुमाएका बिजुली भोलिपल्टै गाउँ फर्किए । तर, आमा धौली गाउँ आउन पाइनन् ।
साहुले ऋण नतिरे गाउँ आउन नदिने भनेपछि छोरीको न्यायका लागि आफू घर आएको उनी बताउँछन् । ‘गाउँ त आएँ, तर आफ्नै छोरीको लाससमेत हेर्न पाएको छैन, क्वारेन्टाइनमा बसेको छु,’ उनले भने । घर फर्किंदा मात्रै ३० हजार रुपैयाँ सकिएको उनले बताए । नेपाल फर्किएपछि उनले जिल्लाका नेतादेखि सांसदसम्मलाई फोन गरेर दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन् । ‘पहल गर्छु सबैले भनेका छन्, तर अहिलेसम्म दोषी को हो रु भनेर प्रहरीले किन भनिरहेको छैन,’ उनी भन्छन् । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘नेपालमा फाँसीको सजाय छैन, उसका बाआमालाई त छोरा आउला भन्ने आस त हुने नै भयो, मेरी त छोरी सधैँलाई गई, यस्ता अपराधीलाई सरकारले कस्तो सजाय दिने हो रु तपाईंहरू नै भन्नुस् ।’ उनले छोरीलाई जसरी पनि न्याय दिनुपर्ने बताए । ‘मेरी छोरीलाई न्याय दिलाइदिनुप¥यो, अपराधीलाई कडाभन्दा कडा कारबाही गरिदिनुस्, मलाई राहत चाहिएको छैन,’ उनले भने । सम्झनाको ‘हत्या’ले उनको परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर पुगेका छन् ।
घटनामा संलग्न बोहरा सार्वजनिक
१२ वर्षीय बालिकाको बलात्कारपछि हत्यामा संलग्न २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । बझाङ मष्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीय सम्झना कामीको ७ असोजको साँझ बलात्कारपछि हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा ८ असोजमा पक्राउ परेका बोहरालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बालिकाका हजुरबा गोरखबहादुर कामीले त्यही दिन छिमेकी बोहराविरुद्ध किटानी जाहेरी दिए । बोहराले गत २९ साउनमा समेत छिमेकी १३ वर्षीय बालिकाको बलात्कार गरेका थिए । तर, त्यो घटना पञ्चायत बसेर गाउँमै मिलाइएको थियो । अहिले बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि ती बालिकाले समेत उजुरी दिएकी छिन् ।
‘पहिलो घटनामा उसको संलग्नता देखिन्छ, प्रमाण संकलन भइरहेका छन्,’ बझाङका प्रहरी प्रमुख डिएसपी रूपक खड्का भन्छन्, ‘सम्झना हत्याका विषयमा पनि थप अनुसन्धान भइरहेको छ ।’ एउटै गाउँमा छोटो अवधिमै दुईवटा जघन्य अपराध भएकाले प्रहरीले संवेदनशील भएर मुद्दाको अनुसन्धान गरिरहेको डिएसपी खड्काले बताए । बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने दुवै घटनामा बोहराको संलग्नता रहेको बताए । नयाँ पत्रिका दैनिकबाट
