DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै मधेषका निमुखा


  • आश्विन ३, २०७७
  • 472 Views
पञ्‍चायती प्रपञ्‍चमा पिसिँदै मधेषका निमुखा image

जनकपुर । गाउँका ‘ठूलाबडा’ को रोहबरमा मुद्दा–मामिला र घटनाहरु गाउँमै मिलाउने राणाकालदेखिको चलन मधेसमा अझै छ, जहाँ प्रायस् पीडितले होइन टाठाबाठा, धनीमानी र पहुँचवालाले ‘ न्याय’ पाउँछन् । अधिकांश निर्णय पीडितको विपक्षमा हुन्छन् । यस्ता अवैध गतिविधिमा प्रहरी–प्रशासनको समेत साथ देखिन्छ । सप्तरीको डाकनेश्वरी–७ की १७ वर्षीया संगीताकुमारी मण्डललाई गत भदौ २९ गते चार जनाले बलात्कार गरे ।

सामूहिक बलात्कारको घटनापछि गाउँमा बसेको पञ्चायतीमा ५५ हजार रुपैयाँ नगद लिएर मिल्न र प्रहरीमा उजुरी नगर्न पञ्चहरूले मण्डललाई उर्दी जारी गरे । पीडित किशोरीले पीडा सहन नसकेर सोही दिन राति झुन्डिएर आत्महत्या गरिन् । पञ्चहरूको निर्णयका कारण ती किशोरीले ज्यान गुमाइन् । सप्तरीकै राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा तीन महिनाअघि वडाध्यक्ष हेमनारायण साहसमेतको उपस्थितिमा बसेको पञ्चायतीले चोरी गरेको आरोप लागेका चार जना मुसहर किशोरलाई ११ सिर्कनु हिर्काउने र जनही २५ सय रुपैयाँका दरले जरिवाना तोक्ने निर्णय सुनाइयो ।

ती किशोरले भनेअनुसारकै सजाय भोगे । तिनका अभिभावकले घरको सामान बेचेर जरिवाना पनि बुझाए । उनीहरूले चोरी गरेको पुष्टि भए पनि पञ्चहरूले कानुनी प्रक्रियाको साटो ११ सिर्कनु हिर्काउने निर्णय सुनाएका हुन् ।सप्तरीमा पछिल्लो समय गम्भीर प्रकृतिका आपराधिक घटनामा पनि सामाजिक पञ्चायतीका नाममा मेलमिलाप गराउने क्रम बढेको छ । कानुनी कारबाही हुनुपर्ने विषयमा जनप्रतिनिधिसमेतको संलग्नतामा पञ्चायती बस्ने र आफूखुसी दण्ड जरिवाना तोक्ने गरिएको छ । कोरोना महामारीअघि पनि जिल्ला प्रहरी कार्यालयसहित प्रहरी इकाइहरूमा दैनिक बिहान १० देखि साँझ ६ बजेसम्म समूह–समूहमा विभिन्न गाउँबाट आएका समूहहरूबीच छलफल चलिरहेको हुन्थ्यो ।

छिमेकीबीचको झगडा, जग्गा विवाद, अंश झगडा, साँधसिमाना, कुटपिट, महिला र घरेलु हिंसालगायत विवादको छलफलबाट समाधान गर्ने भन्दै पञ्चायतीले आफूखुसी निर्णय गर्थे । सर्वसाधारणले समस्यामा पर्दा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले प्रहरीमा उजुरी पठाउने गरेको छ । जिल्ला प्रहरीले पनि मातहतका इकाइलाई पत्राचार गरी दुवै पक्षलाई राखेर छलफल गराउन निर्देशन दिने गरेको छ । तर, ती छलफल टुंगिएको प्रक्रिया, दण्ड र जरिवानालगायतबारे स्पष्ट अभिलेख भेटिँदैन ।

प्रहरी इकाइहरूको छलफलसम्बन्धी रजिस्टरमा दुई पक्षबीच सहमतिको हस्ताक्षर गराइनुका साथै पञ्चहरूलाई रोहवरमा राखिँदै आएको छ । पञ्चायतीमा जान पञ्चहरूले मोटरसाइकलमा पेट्रोल, खाजाका लागि पैसासमेत लिने गरेका घटना बेलाबेला चर्चामा आइरहन्छन् । प्रहरीले भने सामान्य घटनाबाहेकमा छलफल नगराउने दाबी गरेको छ । ‘सामान्य प्रकृतिका घटनाहरूमा मात्र हामी छलफल गराउँछौं,’ सप्तरी प्रहरीका डीएसपी तिलक भारतीले भने, ‘गम्भीर प्रकृतिका अपराधमा मुद्दा चलाउँछौं, त्यसमा कुनै छलफल गराउँदैनौं ।’ कान्तिपुर दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.