भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण, सतर्कता बढाइयो

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण, सतर्कता बढाइयो

झापा, २५ जेठ। मेचीनगर नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’जस्ता सङ्क्रामक पशु रोगको सङ्क्रमण पुष्टि भएपछि सतर्कता बढाइएको छ। नगरपालिकाको विभिन्न वडामा गाईगोरु र बङ्गुरमा देखिएको रोगका कारण पशुपालक किसान चिन्तित भएका छन्।

वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ रोग फैलिएको पुष्टि भएको छ भने वडा नं ६ मा रहेको बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’ देखिएको जनाइएकाे छ । “सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सात जना प्राविधिक कर्मचारी परिचालन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीमा घाउ-खटिरा, उच्च ज्वरो, झोक्राउने, दूध उत्पादनमा कमीजस्ता लक्षण देखिएको छ। प्रभावित क्षेत्रका गोठहरूमा प्राविधिक टोलीले मल्हम, पेनकिलर औषधि र कीटाणुनाशक वितरण गरी उपचारको काम थालिएको छ। सङ्क्रमण फैलन नदिन प्रभावित गोठ वरिपरि ५०० मिटरको परिधिभित्र रहेका १५० भन्दा बढी गाईवस्तुमा ‘रिङ भ्याक्सिन’ अभियान सञ्चालन गरिएको पशु सेवा शाखाले जनाएको छ।

वडा नं ६ स्थित बबिता बङ्गुर फार्ममा जेठ महिनाभरमै ८० वटा बङ्गुर मरेका छन्। नमूना परीक्षणपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट अफ्रिकन स्वाइन फ्लू पुष्टि भएको हो। “हामीले रिपोर्ट पाएपछि प्रभावित क्षेत्रमा औषधोपचार, नाशक प्रयोग र सूचना अभियान तीव्र बनाएका छौँ,” पशु सेवा शाखा प्रमुख विक्रम गुरुङले जानकारी दिए। फार्म सञ्चालक बबिता गहतराजले रोगका कारण ठूलो आर्थिक क्षति भएको बताइन्।

पशु प्राविधिकहरूका अनुसार दुबै रोग सङ्क्रामक भएकोले पशुपालकलाई गोठ सरसफाइमा विशेष ध्यान दिन र बिरामी पशु छुट्याएर राख्न आग्रह गरिएको छ। नगरपालिकाले रोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.