काठमाडौँ । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । देशमा रोजगारी नपाएर भौतारिरहेका युवाको पुस १३ गते हेर्दाहेर्दै जीवन गएको बताउँदै सरकारले गरेको हत्याको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने र असफल र निकम्मा वर्तमान सरकारका प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा सबभन्दा राम्रो हुने बताएका हुन् ।
सांसद कृष्णगोपाल श्रेष्ठले भने, ‘ समग्रमा प्रचण्ड नेतृत्वको सरकार नै नालायक, असफल र निकम्मा देखियो । यस कारण प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा बेस ।’ उनले १३ गतेका दिन राज्यका निकायलाई आन्दोलनका बारेमा जानकारी हुँदाहुँदै पनि मन्त्रीलाई त्यो ठाउँमा जानुहुन्न भन्ने थाहा नभएको हो ? भनेर प्रश्नसमेत गरे ।
त्यस्तै छलफलमा एमालेका अर्का सांसद रघुजी पन्तले सरकारको ठूलो गल्तीबाट अनाहकमा युवाहरू मारिएकोमा खेद प्रकट गरे । उक्त बालकुमारी घटनामा सरकारले घोषणा गरेको क्षतिपूर्ति कम भएकाले बढाउनुपर्नेमा जोड दिए । सरकारको अकर्मण्यताका कारणले एकपछि अर्को समस्या थुप्रिरहेको बताउँदै उनले सरकारको सुशासनको नारा नारामै सीमित भएकाले बालकुमारी घटना हुन पुगेको बताए । पन्तले भने, ‘ बालकुमारी घटना अन्य जस्तो घटना होइन् । गृहमन्त्रीज्यू तपाईं राजीनामा दिनुहुन्छ हुन्न त्यो तपाईको कुरा भयो । यसमा आयोग बनाएर र केही कर्मचारीलाई निलम्बन गरेर मात्रै समाधान निस्किने वाला छैन् । ’
उनले सरकारको गल्तीले अनाहकमा युवाहरु मारिएका हुन् । सरकारले दिने क्षतिपूर्तिको रकममात्रै पुग्दैन् । तिनीहरुका परिवारलाई उचित व्यवस्थापन पनि गर्नुपर्ने सांसद् पन्तको भनाई छ ।