भर्खरै : Sorry, your browser does not support inline SVG.
राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो |

मुस्लिम मजारमा हिन्दुको मेला

मुस्लिम मजारमा हिन्दुको मेला

राँझा । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको डुडुवा गाउँपालिका–५ का वडा अध्यक्ष झङ्कबहादुर थापको भनाइ छ । उनका अनुसार चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यहाँ राखेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

मेलामा बाँके र बर्दियाका सर्वसाधारण सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा राजेन्द्र विश्वकर्माले बताए । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्वपूर्ण रहेको उनको भनाइ छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दू र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ ।

डुडुवा गाउँपालिका–५ मा हिन्दू र मुस्लिम धर्मावलम्बीको बसोबास छ । कम्मर शाह बाबाले सयौँ वर्ष पहिले उक्त स्थानमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकील अहमद खाँले बताए । यादवहरूको परिवारमध्ये कसैलाई स्वास्थ्य समस्या देखिँदा कम्मर शाह बाबाकै शरणमा जाँदा सबै समस्या निको हुने गरेको उनीहरूको विश्वास छ ।

कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायतका कार्य गर्दै आएको स्थानीयवासी खाँको भनाइ छ । मेलाको उद्घाटनमा पूर्वमन्त्री मोहम्मद इस्तेयाक राई, लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवलगायतले हजरत बाबा कम्मर शाह मेलाको महत्वबारे चर्चा गरेका थिए ।

मेलामा यो वर्ष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला समिति अध्यक्ष सगीर खानले जानकारी दिए । उनका अनुसार नवदुर्गा युवा क्लबले मेलामा आजदेखि डुडुवा गाउँपालिकास्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्न लागेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.