काठमाण्डौ, ९ फागुन । अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै आवेदन फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेसँगै यो व्यवस्था लागू गरिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा यसबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच डेटा आदानप्रदान हुने व्यवस्था मिलाइएको छ ।
यो व्यवस्थापछि नागरिकता बनाउँदा भरेकै विवरणका आधारमा राष्ट्रिय परिचयपत्र पनि तयार गर्न सकिनेछ । यसले नागरिकलाई छुट्टै फाराम भर्नुपर्ने झन्झट हटाउनुका साथै समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।
यसअघि राष्ट्रिय परिचयपत्रका लागि आवेदन फाराम भर्नुका साथै बायोमेट्रिक विवरण दिन सम्बन्धित इकाइमै पुग्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थासँगै उक्त प्रक्रिया सरल र एकीकृत भएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्र प्रणालीलाई अन्य १२ वटा सार्वजनिक सेवासँग समेत अन्तरआबद्ध गरिसकिएको छ । विभिन्न निकायबीच प्रणाली जोडिँदा दोहोरोपना नियन्त्रण हुनुका साथै राज्यकोषको समेत बचत भइरहेको मन्त्रालयको भनाइ छ ।