काठमाडौं, २२ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना तथा दिगो समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्न उक्त प्रस्ताव पारित गरेको हो । बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार तथा राहत वितरणको कामलाई थप तीव्र बनाउन सरकारसँग माग गरेको छ ।
बाढी प्रभावित परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने तथा व्यावसायिक राहत उपलब्ध गराउनुपर्नेमा पनि नेकपाले जोड दिएको छ । दीर्घकालीन रूपमा जोखिममुक्त तथा सुरक्षित आवास योजना लागू गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ । त्यस्तै, बाढीका कारण अवरुद्ध भएका अत्यावश्यक सेवा तथा क्षतिग्रस्त पूर्वाधार तत्काल पुनः सञ्चालन गर्न, प्रभावित क्षेत्रको जोखिम मूल्याङ्कन गर्न तथा राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना गर्न प्रस्ताव गरिएको छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वसूचना प्रणाली थप सुदृढ गर्नुपर्नेमा पनि नेकपाले जोड दिएको छ । सम्भावित विपद्का बेला तत्काल परिचालन गर्न सकिने द्रुत प्रतिकार्य टोली गठन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने नेकपाको प्रस्ताव छ ।
विपद्का बेला राजनीतिक तथा सामाजिक विभाजनभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्नेमा पनि बैठकले जोड दिएको छ ।
