काठमाडौँ, १३ कार्तिक । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरेको फोहोर पानी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ । दीपावली तथा छठ पर्वका समयमा वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिर्सिया नदी आसपासका उद्योगबाट निष्कासन हुने प्रदूषित पानीका कारण स्थानीय बासिन्दालाई चाडपर्व मनाउनसमेत कठिनाइ भएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।
विभागले शुक्रबार जारी गरेको सूचनामार्फत उद्योगबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले तोकेको वातावरणीय मापदण्डअनुसार प्रशोधन गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यसैगरी चाडपर्वका समयमा नदीको स्वच्छता कायम राख्न उद्योगहरूलाई आफ्नो तर्फबाट डिप बोरिङ वा अन्य स्रोतबाट स्वच्छ पानी नदीमा पठाएर सहयोग गर्नसमेत अनुरोध गरिएको छ ।
विभागले निर्देशन कार्यान्वयन भए–नभएको विषयमा स्थलगत अनुगमन गर्ने जनाएको छ । त्यसका लागि उद्योग मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेशअन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायहरूको संयुक्त टोली परिचालन गरिनेछ ।
उक्त टोलीले उद्योगहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरी वातावरणीय मापदण्ड पालना भए–नभएको जाँच गर्नेछ । कानुनको पालना गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै विभागले प्रचलित वातावरणीय कानुन तथा मापदण्डको परिधिभित्र रहेर नदी प्रदूषण नियन्त्रणमा जिम्मेवार बन्न उद्योगीहरूलाई सचेत गराएको छ ।
