काठमाडौँ, १२ कार्तिक। देशभर आज बिहीबार दिनभरजसो मौसम बदली हुने तथा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । केही स्थानमा भने बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्र रहेको उहाँले बताउनुभयो ।
बिहीबार बेलुकादेखि शनिबारसम्म उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज देशका अधिकांश स्थानमा मौसम बदली हुने देखिएको छ । बेलुकादेखि केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउनुपर्नेछ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै मौसमविद् पोखरेलले पाकिसकेको धान तत्काल नकाट्न किसानलाई सुझाव दिनुभएको छ । मौसम सफा भएपछि आइतबारदेखि धान काट्न सकिने उहाँको भनाइ छ । वर्षा र हिमपातको सम्भावना रहेकाले किसानले मौसमको अवस्था विचार गरेर कृषि कार्य अघि बढाउनुपर्ने देखिएको छ ।
