काठमाडौँ, १३ कार्तिक । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोबाट प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ । सुरुङभित्र अत्यधिक हिलो, पानी र अवरोध रहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ ।
नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा खोज तथा उद्धारको अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार उद्धार टोलीले घटनाको ११औँ दिन सुरुङभित्र फसेका एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको थियो । सुरुङको अवस्था अत्यन्तै जोखिमपूर्ण भए पनि नेपाली सेना, चिनियाँ तथा कोरियन टोलीको संयुक्त प्रयासमा उद्धार कार्य अघि बढाइएको थियो ।
सहायक रथी थापाका अनुसार प्रभावित आयोजनाको सुरुङ ९.७ किलोमिटर लामो छ । सुरुङको नक्सा प्राप्त भएपछि इन्जिनियरहरूसँग समन्वय गरी खोज तथा उद्धारको योजना बनाइएको थियो । प्रारम्भिक निरीक्षणका क्रममा सुरुङभित्र प्रवेश गर्न सकिने दुईवटा सम्भावित स्थान मात्र फेला परेका थिए । अन्य प्रवेश मार्गहरू पूर्ण रूपमा अवरुद्ध थिए ।
उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्दा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको अभाव सामना गर्नुपरेको थियो । कतिपय स्थानमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर खोजी अघि बढाइएको थियो । पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जनामध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ ।
सुरुङको माथिल्लो भागमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको सहायक रथी थापाले जानकारी दिए ।उद्धार गरिएका व्यक्तिले सुरुङभित्र पानी जम्मा गरेर पिउने र हिँडडुल गर्दै समय बिताएको प्रारम्भिक जानकारी दिएका थिए । सेनाका अनुसार उद्धारका बेला उनी स्वस्थ अवस्थामा थिए । खोजीका क्रममा अडिट–३ बाट अस्ट्रेलियाली उद्धार टोलीको ड्रोन प्रयोग गरी सुरुङभित्र करिब १ हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो ।
सेनाका अनुसार सुरुङको हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएका थिए । सोही क्षेत्रमा खोजीका क्रममा ३७ वटा शव फेला परेका हुन् ।
सुरुङको करिब चार किलोमिटर क्षेत्रमा पानी र लेदो जमेको छ । करिब २१ फिट अग्लो सुरुङमा १७ फिटसम्म पानी र लेदो भरिएको जानकारी दिँदै सहायक रथी थापाले त्यसभन्दा अगाडिको क्षेत्रमा पुग्न कठिन रहेको बताए । अडिट–१ क्षेत्रबाट पानी निकाल्ने विकल्पबारे आयोजना र इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको छ ।
भोटेकोशी करिडोरको प्रभावित क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाली, भारतीय, चिनियाँ र कोरियन कामदार कार्यरत रहेको आयोजनामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । सुरुङभित्रको अवस्था जटिल रहेकाले खोज तथा उद्धार कार्य अझै जारी रहेको सेनाले जनाएको छ ।
