काठमाडौँमा प्रहरीको विशेष सुरक्षा अभियानका क्रममा ९७ जना पक्राउ ।
पक्राउ पर्नेमा ८२ पुरुष र १५ महिला ।
अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना पक्राउ ।
चालु मुद्दाका छ जना फरार प्रतिवादी पनि नियन्त्रणमा ।
बसपार्क, बजार, सार्वजनिक यातायात र सरकारी कार्यालय आसपास निगरानी तीव्र ।
काठमाडौँ, १२ कात्तिक । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा ९७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ११ र १२ गते काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ८२ पुरुष र १५ महिला रहेका छन् । पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदार छन् । त्यस्तै, चालु मुद्दाका छ जना फरार प्रतिवादीसमेत पक्राउ परेका छन् ।
प्रहरीले सार्वजनिक स्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास तथा बढी भिडभाड हुने क्षेत्रमा निगरानी र चेकजाँच तीव्र बनाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।
बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सेवाग्राहीको बढी उपस्थिति हुने सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको प्रवक्ता थापाले बताए ।
पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप र उनीहरूको सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रण गर्न विशेष निगरानी र चेकजाँचलाई निरन्तरता दिइने परिसरले जनाएको छ ।
