काठमाडौँ, १३ कार्तिक । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् लाइन भूमिगत गर्ने कामका लागि आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ गतेदेखि २० गतेसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती गर्ने जनाएको हो ।
प्राधिकरणका अनुसार भूमिगत विद्युत् लाइन विस्तारको कामलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाउन कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ । निर्धारित कार्यतालिकाअनुसार सम्बन्धित क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गरिनेछ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ । कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती हुनेछ । यस्तै, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।
कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र कात्तिक १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती हुनेछ । त्यसैगरी, कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द गर्न वा परिवर्तन गर्न सकिने जनाएको छ । विद्युत् वितरण प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउने तथा सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले लाइन भूमिगत गर्ने काम भइरहेको प्राधिकरणको भनाइ छ । कामका क्रममा उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै सहयोगका लागि आग्रह गरेको छ ।
