दाङ । राप्ती आँखा अस्पताल नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्ने नवआगन्तुक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई अभिमुखिकरण गरिएको छ । अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गरिएको हो ।
एकाडमिक चिफ तथा आँखा रोग क्यान्सर रोग विशेषज्ञ डा. सुरेश रसाइलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्धोपन न्युनीकरणका बारेमा अभिमुखिकरण गरिएको थियो । केन्द्रीय सदस्य गिरीले आँखा स्वास्थ्य शिक्षामा थप दक्षता हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गरे ।
विद्यार्थीहरूले आफ्नो उद्देश्य प्राप्त गर्न लगनशिलता हुनुपर्ने भन्दै गिरीले सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाई व्यवहारमा लागू गर्न समेत आग्रह गरे । आँखाका बिरामीहरूसँग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले सचेत भएर सुक्ष्मरुपमा अध्ययन गर्न विद्यार्थीहरूलाई अनुरोध गरे । नेपालमा नेत्र विशेषज्ञहरूको संख्या करिब ५÷६ सय मात्रै रहेको जानकारी दिदै कार्यक्रममा डा. सुरेश रसाइलीले अकुलोप्लास्टी, रेटिना र नेत्र बालरोग विशेषज्ञहरूको संख्या अझै न्यून रहेको बताए । त्यसैले नेत्र सहायकको अध्ययन गर्नेहरूका लागि यो ठूलो अवसर भएको जिकिर गरे ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य ध्रुव गौतम, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम, गुरुजजुर माविका प्रधानाध्यापक विष्णु कमारी केसी, प्रशिक्षक रेश्वरराज भट्टराई लगायतकाले नवआगन्तुक विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै लगनशील भएर अध्यन गर्न आग्रह गरे ।
शिक्षालयका प्रशासक तथा लेखा अधिकृत प्रेमाकुमारी सापकोटाले विषय प्रवेशसंगै स्वागत गरेकी थिइन भने कार्यक्रमको सहजीकरण लायब्रेरियन निरला अर्यालले गरेकी थिइन् । शिक्षालयमा सातै प्रदेशबाट विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । जसमा लुम्बिनी र कर्णाली प्रदेशबाट धेरै विद्यार्थी रहेको शिक्षालय प्रशासनले जनाएको छ ।
के हो नेत्र सहायक अध्ययन र नेपालमा यसको अवधारणा कहिलेदेखि आयो ?
नेत्र सहायकहरु आँखा सेवाको मेरुदण्ड हुन् । नेत्र सहायकहरु राष्ट्रको अन्धोपन निवारण कार्यका अभियान्ता पनि हुन । नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पताल खुलेपछि यसको अवधारणा आएको हो । डा रामप्रसाद पोखरेलेको नेतृत्वमा सो अस्पताल विसं २०३० स्थापना भएको हो । आँखा उपचार सेवाको सुरुवात आँखा डाक्टरहरुबाट मात्र सम्भव थिएन ।
आँखा उपचार सेवा जिल्ला स्तरमा सुचारु गर्न र ग्रामीण जनसमुदायमा पु¥याउनका लागि मध्यमस्तरीय आँखा जनशक्ति विकासको खाँचो देखिएका हुनाले नेत्र सहायकको अवधारणा आएको हो । सन् १९८१ को मे महिनाबाट काठमाडौंको वीर अस्पताल एवं नेपाल आँखा अस्पतालको सक्रियतामा सुरु गरिएको हो । त्यतिबेला ७ जना आँखा विशेषज्ञ थिए । प्यारामेडिक्सको रुपमा कुनै अरु तह थिएन ।
त्यसपछि यो जनशक्तिको आवश्यकता महसुस भएर ४० जनाको दरले नेत्र सहायक जनशक्ति तालिमको सुरुवात गरिएको थियो । नेत्र सहायकको जनशक्तिको माग बढेपछि नेपालमा ८ वटा आँखा अस्पताल नेपाल आँखा अस्तपाल त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान गौशाला, सगरमाथा चौधरी आँखा अस्पताल लहान, लुम्बिनी आँखा अस्पताल भैरहवा, भरतपुर आँखा अस्पताल चितवन, फत्तेबाल आँखा अस्पताल नेपालगञ्ज, राप्ती आँखा अस्पताल दाङ र हिमालय आँखा अस्पताल पोखरा मार्फत नेत्र सहायकको प्रमाणपत्र तहको पठनपाठन भइरहेको छ ।
अफ्थाल्मिक साइन्स प्रमाणपत्र तहको यो पढाइ एक वर्ष बेसिक साइन्स र दुई वर्ष क्लिनिकल अफ्थाल्मोलोजी गरी कुल तीन वर्षको पाठ्यक्रम अनुसार पठनपाठन हुने गरेको छ । ८ वटा कलेजमा ४०–४० जना कोटाका दरले यसको पढाइ हुन्छ । यसअनुसार वार्षिक ३ सय नेत्र सहायक उत्पादन भइरहेका छन् । तथ्याङ्क अनुसार हाल नेपालमा १५ सय जनाको हाराहारीमा दर्ता गरिएका नेत्र सहायकहरु कार्यरत छन् ।
आँखा अस्पतालको अलावा नेत्र सहायकहरु ७७ वटै जिल्लामा विभिन्न गैरसरकारी संस्थाबाट सञ्चालित आँखा अस्पतालहरु, जिल्लास्थित प्राथमिक एवं सामुदायिक आँखा उपचार केन्द्रहरु, निजी तहमा सञ्चालित आँखा उपचार केन्द्रहरु तथा निजी क्लिनिकहरुमा यो जनशक्ति कार्यरत छन् ।
नेत्र सहायकको काम के हो ?
आँखा अस्पतालहरुमा नेत्र विशेषज्ञको सहायकको रुपमा आँखा जाँच, उपचार, सामान्य शल्यक्रिया (लिडको मात्र) तथा चश्मा जाँच कार्य गर्छन् । आँखाको जुनसुकै अपरेसनमा नेत्र विशेषज्ञलाई सघाउने तथा आँखाको अनुसन्धनात्मक कार्यहरुमा सहभागिता जनाउँछन् ।
नेत्र सहायकहरुले आँखा अस्पतालहरुका अलवा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेर सेवा दिइरहेका छन् । देशभरमा १ सय २० वटा प्राथमिक एवं सामुदायिक आँखा उपचार केन्द्र छन् । कुनै जिल्लामा ५–७ वटा पनि प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । ८० प्रतिशत भन्दा बढी प्राथमिक तहमा आँखा सेवा उपलब्ध गराउने नेत्र सहायक नै हुन् । आँखा अस्पताल नभएका ठाउँबाट उनीहरुले अन्यत्र रिफर पनि गरिदिन्छन् ।
जिल्ला स्तरमा विद्यालयमा आँखा जाँच कार्यक्रम, आँखा शिविर सञ्चालन जस्ता कार्यहरुमा संलग्न भई कार्यरत रहेका छन् । हरेक सर्जरीमा अफ्लामोलोजिस्टलाई सघाउने काम हुन्छ । देशमा आँखा सेवाको विस्तार र अन्धोपन निवारण कार्यमा स्वास्थ्य चौकी तहसम्म पदस्थापन हुन जाने हुँदा यो पेसा अझ जिम्मेवारीपूर्ण र गरिमायम छ ।
