भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

‘लोकतन्त्र सङ्कटमा छ’ – प्रचण्डको कांग्रेसप्रति आरोप र सरकारप्रति असन्तुष्टि

‘लोकतन्त्र सङ्कटमा छ’ – प्रचण्डको कांग्रेसप्रति आरोप र सरकारप्रति असन्तुष्टि

काठमाडौँ, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हालैका बाढीपहिरोका घटनाले निम्त्याएको जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनलाई सबैको साझा जिम्मेवारी भएको बताए ।

“रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। यो सङ्कटमा हाम्रो पार्टी, वाईसीएल र जनवर्गीय सङ्गठनहरू प्रभावित क्षेत्रमा सक्रिय रूपमा सहयोग गरिरहेका छन्,” उनले भने । उनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिए । 

प्रचण्डले नेपालको हिमाली क्षेत्र जलवायु सङ्कटको केन्द्र बन्दै गएको बताउँदै हिमताल फुट्ने, नदी थुनिने र जलप्रवाह बढ्ने जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको औँल्याए । उनले गत वर्ष काठमाडौँमा चार घण्टासम्म उद्धार नपाउँदा नागरिकको ज्यान गएको घटना स्मरण गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे । साथै, उनले राष्ट्रिय स्वाधीनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बलिदान गर्ने सहिद, बेपत्ता र घाइते योद्धाहरूप्रति श्रद्धा व्यक्त गरे ।

यसै क्रममा प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसमाथि जनताको मतको दुरुपयोग गरेको र लोकतान्त्रिक मूल्य कमजोर पारेको गम्भीर आरोप लगाए । उनले भने, “संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले जनताको मतलाई जनहितमा उपयोग गर्न सकेन । स्वेच्छाचारिता र अहङ्कारी व्यवहारले लोकतन्त्र सङ्कटमा परेको छ ।” उनले कांग्रेस ‘स्वर्ग र नर्कको गोलचक्कर’मा फसेर आफ्नो जनमत समर्पण गरेको टिप्पणी गरे ।

प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताको अहङ्कारी प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाएको बताए । “गत वर्ष मैले यस्तो सङ्कटको चेतावनी दिएको थिएँ । सरकारको कमजोरी र असन्तुलनले प्रतिगामी हर्कतहरू बढेका छन्,” उनले भने ।

उनले सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्न आफूले खेलेको भूमिकाको अवमूल्यन भएकोमा असन्तुष्टि जनाए । “हाम्रो समावेशी प्रयासलाई अस्थिरता ठान्नु गलत हो । यस्ता गठबन्धनले निरङ्कुशता र स्वेच्छाचारिता बढाउँछ,” उनले थपे ।

प्रचण्डले सरकारको रवैया र गठबन्धनको स्वरूपले लोकतन्त्रमा सङ्कट निम्त्याउने चेतावनी दिँदै यस्ता प्रवृत्तिहरू सुधार्न सबै दललाई एकजुट हुन आह्वान गरे।