भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जथाभाबी डोजर चलाउँदा संरक्षण थालिएको ताल नै सुक्यो

जथाभाबी डोजर चलाउँदा संरक्षण थालिएको ताल नै सुक्यो

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बिचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभाबी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो । तङ्ग्राम गाउँका शिरमा रहेको खोरताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९र८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएको थिए ।

त्यसपछि ताल पानीविहीन भएको स्थानीय गङ्गाबहादुर किसानले बताए । गाउँलेले ताललाई परम्परागत रुपमा संरक्षण गर्दै आएको सुनाउँदै सिमेन्टको पर्खालका कारण ताल सुकेको उनले बताए । धार्मिक महत्वसँग जोडिएको यो तालमा पहिले–पहिले स्थानीयले पूजाआजासमेत गर्ने गरेको भन्दै अहिले त्यो पनि हराएको छ । तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिति आएको किसान बताउँछन् । दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहेको उनको भनाइ छ ।

“यहाँ ठुलो पानीको ताल थियो, गाउँले यहीँ पानी भर्ने गर्थे, पहिले–पहिले भैँसी राँगा डुबेपछि कोही पनि तालभित्र पस्दैनथे, तर अहिले तालमा धुलो उड्छ, किन यस्तो भयो हामीहरू निकै अचम्मित भएका छौँ, हिउँमा अलिअलि पानी घट्यो तर यस्तो सुक्खा कहिल्यै पनि परेका थिएन”, किसानले भने, “यो ताल निकै सुन्दर थियो, पानी सफा हुन्थ्यो, हामी सानो हुँदा पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गर्थ्यो, अहिले त धुलाम्मे बनेको छ, यहाँ पालिकाबाट योजना पर्‍यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पूरै सकेर सकियो ।”

स्थानीय दिलमाया किसानले ताल सुकेपछि वरपर खानेपानीको समस्या बढेको बताइन् । आफू यो ठाउँमा आएको २५ वर्ष भएको सुनाउँदै यतिका समयसम्म खानेपानी अभाव नभएको उनको भनाइ छ । उनले भनिन्, “यस्तो त कहिल्यै भएको थिएन, म यहाँ आएको पनि साढे दुई दशक बित्यो तालमा पानी सुकेको कहिल्यै थिएन, अहिले तालमा एक थोपा पनि पानी छैन ।”

काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनले जलवायु परिवर्तनका कारण ताल सुकेको हुनसक्ने बताए । तालसँगै गाउँमा भएका थुप्रै पानीका मुहान सुकेको उहाँको भनाइ छ । ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले रु ३० लाख लगानी गरे संरक्षण गरेको उनी बताउँछन् । पहिले हिउँद बर्खा पानी रहने ताल अहिले सुक्खा बनेको अध्यक्ष पुनको भनाइ छ ।

“यो धेरै वर्ष पुरानो ताल हो, पर्यटकीय हिसाबले यसको प्रचारप्रसार, संरक्षण र सौन्दर्यकरण गर्न जरुरी थियो, सोहीअनुसार बजेट व्यवस्थापन गरेर काम गरेका थियौँ, तर अहिले तालमा पानी नै सुक्यो”, अध्यक्ष पुनले भने, “तालसँगै अन्य ठाउँमा भएको खानेपानीको मुहानसमेत सुकेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष असर यहाँ परेको देखियो ।” रासस

 


Thali Mobile Pvt.Ltd.