भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित

बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्‍याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो ।

नगरपालिकाको १७ लाख लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले बताए । करिब एक घण्टाको दूरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौंपहिले सडक पुगे पनि पुरानो गाउँमा लामो प्रयासपछि यही महिना सडक पुगेको उनको भनाइ छ । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पुर्‍याउने स्थिति रहेको उनले बताए ।

मोटरबाटोले स्थानीयको वर्षौंदेखिको समस्या समाधान गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सडक गाउँसम्म पुर्‍याउन यस वर्ष नगरपालिकाबाट पाँच लाख विनियोजन भएको थियो । अघिल्लो वर्षसम्म ११ लाख खर्च भइसकेको उनी बताउँछन् । करिब २६ घरधुरी रहेको पुरानो गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आबद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पुर्‍याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । उनले भने, ‘भौगोलिक विकटताका कारण अहिलेसम्म यो गाउँमा सडक पुग्न सकेको थिएन, बजेट पनि कम पर्ने गथ्र्यो, यस वर्ष मात्रै गाउँसम्म सडक ल्याउन सफल भयौँ, अब यहाँका नागरिकले बजार जान पैदल हिँड्नुपर्ने छैन, मोटरबाटो भेट्न एक घण्टा हिँडेर गाडीखोला र मोराङ पुग्नुपर्थ्यो, अब बस्तीमै बाटो आयो, सडक पुगे मात्रै अरू विकास गर्न सहज हुने हुँदा अहिलेसम्म पछाडि परेको यो ठाउँमा अब अन्य विकासका पूर्वाधार पनि बन्दै जानेछन् ।’

पुरानो गाउँमा मोटरबाटो पुगेपछि यस क्षेत्रका सबै बस्ती सडकले जोडिएको अध्यक्ष बुढा मगरको भनाइ छ । गत मङ्सिरमा भित्रीवन गाउँ सडकले जोडिएको उनले जानकारी दिए । झण्डै १६ घरधुरी रहेको भित्रीवनका स्थानीयले पनि घन्टौँ हिँडेर मात्रै गाडीको सुविधा लिने गरेका थिए । यहाँ सडक पुर्‍याउन नगरपालिकाले गत वर्ष चार लाख र यस वर्ष दुई लाख विनयोजन गरेको अध्यक्ष बुढा मगर बताउँछन् । सो गाउँनजिक रहेको ढोरपाटन सडकको करिब ११ किलोमिटर सडक कालोपत्र हुने तयारीमा छ । ढोरपाटन जोड्न ६ किलोमिटर बाँकी रहेको उनको भनाइ छ । ढोरपाटनको छन्तेङ जोड्ने गरी निर्माण भएको सडक सिकार आरक्षले अवरोध पुर्‍याउँदा काम रोकिएको हो ।

नगर उपप्रमुख धनबहादुर कायतले भौगोलिक कठिनाइका कारण धेरै गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न नसकेको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर ट्र्याक खोल्न थालेको बताए । जिल्लामा दुर्गम मानिने ठाउँमा केन्द्र र प्रदेश सरकारबाट कम बजेट पर्दा अहिलेसम्म सबै ठाउँमा सडक सञ्जाल पुर्‍याउन नसकेको उनको भनाइ छ । नगरपालिकाले सीमित स्रोत साधन पनि सडक निर्माणलाई तीव्रता दिएको कायतले बताए ।

उनले भने, ‘नगरपालिकाले सबै ठाउँमा एकै पटक विकास गर्नका लागि पर्याप्त बजेट हुँदैन, क्रमैसँग सबै ठाउँमा विस्तारै विकास गर्दै गएका छौँ, अझै पनि धेरै ठाउँमा सडक पुर्याउन लागि परिरहेका छौँ, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी अन्य विकास निर्माणको गतिलाई अगाडि बढाउँदै छौँ ।’ रासस

 


Thali Mobile Pvt.Ltd.