जलेश्वर । मिथिलाञ्चलमा प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका ८ का पण्डित अनिल पाठकले बताए ।
आजदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाईको दीर्घायुको कामना गर्दै मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामा चकेवा खेल्ने छन् ।
आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाईको हातबाट माटो खनेर ल्याएका छन् ।