राजगढ, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरमा प्रहरीले मदिरा तस्करी रोक्ने क्रममा चलाएको गोली लागेर एक स्थानीय युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार, भारत सीमाबाट मदिरा तस्करी भइरहेको सूचनाका आधारमा मंगलबार राति ‘सर्च अपरेशन’ चलाउँदा झडप भएको थियो। सो क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ–२ का करिब ३६ वर्षीय लालु यादव गम्भीर घाइते भए। उपचारका लागि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भयो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार प्रहरीले तस्करी नियन्त्रणका लागि अपरेशन चलाउँदा स्थानीयवासीले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन गोली प्रहार गर्नु परेको थियो। “झडपको क्रममा तिघ्रामा गोली लागेका लालु यादवको उपचारका क्रममा ज्यान गएको हो,” डीएसपी बस्नेतले जानकारी दिए।
घटनामा एक जना प्रहरी पनि घाइते भएको जनाइएको छ। प्रहरीले भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएका केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको छ। हाल घटनास्थलको अवस्था सामान्य रहेको र आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
