सर्लाही, २७ कार्तिक । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको ज्यान गएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोकबिदा दिएको छ ।दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको हो ।
घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ । छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्त तथा छिमेकीले दुर्घटनामा ज्यान गुमाएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।
एउटै गाउँका १३ जनाको मृत्यु भएपछि स्थानीय समुदायमा गहिरो शोक छाएको छ । गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
