भर्खरै : Sorry, your browser does not support inline SVG.
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै | डिमेन्सिया पहिचान गर्न बेलायतमा दुई करोड पाउन्डको कृत्रिम बुद्धिमत्ता परियोजना | विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा | रिपब्लिकनको गढमा डेमोक्रेटिकको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत सिनेटर निर्वाचित | शक्तिशाली एल निनोको चेतावनी : नेपालमा खडेरीदेखि खाद्यान्न सङ्कटसम्मको जोखिम | पैसा अभावले विश्व भ्रमण रोकियो, यात्रुलाई अलपत्र पार्ने पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा | मिनीटिलर र उन्नत जातको प्रभाव : म्याग्दीमा रैथाने गाईगोरु पाल्ने चलन हराउँदै | काँकडभिट्टा नाकाबाट एक महिनामै ९८ करोडको अलैँची निर्यात |

१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै

१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै

मुख्य बुँदा

नेपालगञ्जको कान्तिताल संरक्षण र रेखदेखको अभावमा जीर्ण ।

पूर्वाधार र सौन्दर्यीकरणका लागि उपमहानगरपालिकाले करिब १० करोड रुपैयाँ खर्च गरेको ।

निर्माण गरिएका रेलिङ भत्किएका र ताल क्षेत्र झाडीले ढाकिएको ।

रातिको समयमा शङ्कास्पद गतिविधि बढेको भन्दै स्थानीयको चिन्ता ।

उपमहानगरपालिकाले दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी गरेको ।

बाँके, २६ कार्तिक । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ।नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा महत्त्वाकाङ्क्षी योजना अघि बढाएको थियो। तर, संरक्षण र व्यवस्थापन नहुँदा तालको अवस्था जीर्ण बन्दै गएको हो।

स्थानीय पूर्वाधार विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ। सौन्दर्यका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने सिङ्गो ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व नै गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताए।

थापाका अनुसार कान्तिताल केवल भौतिक पूर्वाधार मात्र नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान रहेको छ। पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन्। सरोकारवाला निकायलाई पटक(पटक घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन।

झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ। अहिले कान्तिताल लागुऔषध दुर्व्यसनीहरूको सुरक्षित जमघटस्थल बनेको छ। साँझपख यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दालाई त्रसित बनाएको थापाले बताए।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ उपमहानगरलाई राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा बनाइएका रेलिङ र पूर्वाधारहरू लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताए।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाहरू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरे। उनले भने, ‘विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन्।’ सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल गरेर कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारी भइरहेको उनले जानकारी दिए।

कुनै समय नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कान्तितालको तत्काल संरक्षण गरिनुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए। रासस

 


Thali Mobile Pvt.Ltd.