काठमाडौँ, २७ कार्तिक । पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि आगामी आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले खेतमा काट्न बाँकी रहेको धानबाली तथा सुकाउन राखिएको पराल सुरक्षित गर्न मौसमविद्हरूले किसानलाई आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर, आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभाव सबैभन्दा पहिले सुदूरपश्चिम तथा कर्णालीका उच्च पहाडी र हिमाली भूभागमा देखिने अनुमान गरिएको छ । त्यसपछि यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुन सक्नेछ ।
बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ । मौसमविद् पोखरेलका अनुसार विकसित हुन लागेको मौसमी प्रणाली तीव्र गतिमा अघि बढ्ने प्रकृतिको भएकाले यसबाट कुनै असामान्य विपद्को जोखिम देखिएको छैन । मध्यम स्तरको वर्षा र हिमपात हुने अनुमान रहेकाले यसले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ ।
यद्यपि, वर्षा र असिनाका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानले समयमै सावधानी अपनाउनुपर्ने उनले बताइन् । ‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ,’ पोखरेलले भनिन् ।
उनका अनुसार वर्षासँगै केही स्थानमा मेघगर्जन र असिनासमेत पर्न सक्ने भएकाले धान काट्न बाँकी रहेका किसानले विशेष सतर्कता अपनाउन आवश्यक छ । मनसुनका बेला एल निनोको प्रभावका कारण कम वर्षा हुने आकलन गरिए पनि नेपालमा नियमित वर्षा भएको सन्दर्भ उल्लेख गर्दै पोखरेलले हिउँदयामको मौसमी अवस्था भने फरक हुन सक्ने बताइन् ।
‘हाल ठूलो मौसमी प्रणाली विकास भइसकेको छैन । त्यसैले आत्तिनुपर्ने अवस्था नरहे पनि विभागले जारी गर्ने नियमित मौसम पूर्वानुमान र परामर्शमा ध्यान दिन आवश्यक छ,’ उनले भनिन् । विशेषगरी मौसम नक्सामा पहेँलो सङ्केत गरिएका क्षेत्रका बासिन्दा तथा किसानलाई अद्यावधिक सूचना हेरेर मात्र बाली भित्र्याउने योजना बनाउन विभागले आग्रह गरेको छ । समग्र हिउँदयामको मौसमी विश्लेषण भने विभागले छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।
