एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले सिनेट चुनावमा ऐतिहासिक जित हासिल गर्नुभएको छ । दशकौँदेखि रिपब्लिकन पार्टीको प्रभाव रहँदै आएको यस राज्यमा ४३ वर्षीय कोलोमको जितलाई डेमोक्रेटिक पार्टीका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ । कोलोम १४० वर्षपछि मिसिसिपीबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो अश्वेत सिनेटर बन्नुभएको समाचारमा उल्लेख छ ।
उहाँले बहालवाला रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई ४ हजार ६६९ मतको अन्तरले पराजित गर्नुभएको हो । कोलोमले ४ लाख ७३ हजार ३३६ मत प्राप्त गर्दा हाइड–स्मिथले ४ लाख ६८ हजार ६६७ मत पाउनुभयो । यस नतिजाले सन् १९८२ देखि मिसिसिपीमा कायम रहेको रिपब्लिकन पार्टीको जितको शृङ्खला तोडेको जनाइएको छ । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले यस राज्यमा २२ प्रतिशतभन्दा बढी मतान्तरले जित हासिल गर्नुभएको थियो ।
समाचारअनुसार यस नतिजासँगै १०० सदस्यीय अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीको सिट सङ्ख्या ५५ पुगेको छ । अलास्कामा भएको कडा प्रतिस्पर्धाको नतिजा भने घोषणा हुन बाँकी रहेको बीबीसीले जनाएको छ । यसैबीच, हालै सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण हासिल गर्दै उल्लेखनीय सफलता पाएको समाचारमा उल्लेख छ ।
पार्टीले टेक्सास, साउथ क्यारोलिना र कन्सासजस्ता रिपब्लिकनको बलियो प्रभाव रहेका क्षेत्रमा समेत जित निकालेको जनाइएको छ । जनमत सर्वेक्षणहरूले राष्ट्रपति ट्रम्पको कार्यकालमा अर्थतन्त्रको अवस्था र इरानसँगको युद्धप्रति देखिएको जनअसन्तुष्टिलाई निर्वाचन परिणामको प्रमुख कारणका रूपमा औँल्याएको समाचारमा उल्लेख छ ।
