प्रतिकात्मक फोटो
पोखरा, ३ जेठ । कास्कीको पोखरा महानगरपालिका–१०, पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरी बलले सफलतापूर्वक उद्धार गरेको छ।
नाम र परिचय नखुलेका करिब २०/२१ वर्षका ती युवकले शुक्रबार राति सेती नदीमा हाम फालेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट विपद् व्यवस्थापन टोली खटिएको थियो। टोलीले राति ९:३५ बजे रोप रेस्क्यू प्रविधिको प्रयोग गरी युवकको उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
उद्धार कार्य करिब ४५ मिनेटसम्म चलेको थियो। युवक हाम फालेको स्थानबाट लगभग १०० मिटर तल सेती नदीको खोँचमा अर्धचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ।
हालसम्म युवकको परिचय खुल्न सकेको छैन, र उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।