तिब्बत, १३ असार । नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकाका प्रतिनिधिहरूले जनवादी गणतन्त्र चीनको सिचाङ (तिब्बत) स्वशासित क्षेत्र अन्तर्गतको शान नान नगरपालिकाका प्रमुख शान्झु सिरेनसँग भेटवार्ता गरेका छन्।
भेट असार ११ गते (जुन २५, २०२५) शान नानस्थित एक कार्यालयमा सम्पन्न भएको हो। शान नान र भक्तपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएसँगै, सो सम्बन्धलाई थप सशक्त बनाउने उद्देश्यले भक्तपुरबाट वडाध्यक्ष रविन्द्र ज्याख्व र प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईको नेतृत्वमा प्रतिनिधिमण्डल सो नगरमा पुगेको थियो।
भेटका क्रममा नगरप्रमुख शान्झु सिरेनले भक्तपुर नगर प्रतिनिधिमण्डललाई स्वागत गर्दै छिमेकी नगरहरूसँग आपसी सद्भाव, सहयोग र सम्बन्ध विस्तार गर्न आफूहरू सधैं तत्पर रहेको उल्लेख गर्नुभयो। उहाले पर्यटन, संस्कृति, व्यापार, शिक्षा र सामाजिक क्षेत्रमा आपसी भ्रमण तथा सहयोगमार्फत सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
नगरप्रमुख सिरेनले शान नान नगरको क्षेत्रफल ७९,३०० वर्ग किलोमिटर रहेको र यस नगरमा करिब ३ लाख ७५ हजार जनसंख्या रहेको जानकारी दिनुभयो। ल्हासाको दक्षिणपूर्वमा अवस्थित यस नगरलाई तिब्बती सभ्यता र संस्कृतिको उद्गमस्थल मानिने बताउँदै, नगरलाई एक जिल्ला र ११ वटा काउन्टीमा विभाजन गरिएको पनि जानकारी दिनुभयो।
उहाले शिक्षा र स्वास्थ्यमा राज्यले निःशुल्क सेवा प्रदान गरिरहेको र युवा पुस्तालाई चिनियाँ क्रान्तिको इतिहास तथा कम्युनिष्ट आदर्शबारे शिक्षित गरिने व्यवस्था रहेको उल्लेख गर्नुभयो।
भक्तपुर नगरपालिकाका वडाध्यक्ष रविन्द्र ज्याख्वले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै २०७२ को भूकम्प र कोभिड १९ महामारीका बेला चीन तथा शान नान नगरले दिएको सहयोगप्रति आभार प्रकट गर्नुभयो।
उहाले भक्तपुर नगरपालिकाको सामाजिक सेवा प्रयासबारे जानकारी दिँदै शिशु स्याहार केन्द्रदेखि उच्च शिक्षा र ख्वप अस्पतालको सेवा सम्मको चर्चा गर्नुभयो। साथै, नगर प्रमुखको तर्फबाट शान नान नगर प्रमुखलाई भक्तपुर भ्रमणको लागि निमन्त्रणा समेत गर्नुभयो।
भेटका अवसरमा भक्तपुर नगरपालिकाको तर्फबाट काष्ठकला, हस्तकला र प्रकाशन सामग्रीहरू उपहारस्वरूप प्रदान गरिएको थियो। शान नान नगरपालिकाले पनि नक्सा अंकित कपडा र अन्य उपहार प्रदान गरेको थियो।
यस्तै, शान नान नगरपालिकाले सेप्टेम्बर–अक्टोबरमा आयोजना हुने यार्लुङ सांस्कृतिक तथा पर्यटन महोत्सवमा भक्तपुर नगर प्रमुखको नेतृत्वमा एक प्रतिनिधिमण्डललाई सहभागिताको लागि औपचारिक निमन्त्रणा पनि गरेको छ।

