काठमाडाैं । र्यापर सुरेश कुँवर (भिलेन–३९) को नयाँ गीत ‘सोच’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । आर एन बी शैलीमा तयार गरिएको यस गीतको शब्द र संगीत स्वयं सुरेश कुँवरकै रहेको छ ।
गीतकाे भिडियो दोलखाका विभिन्न धार्मिक तथा प्राकृतिक स्थलहरूमा च्छो रोल्पा ताल, दुध कुण्ड तथा वरपरका अन्य रमणीय ठाउँमा छायांकन गरिएको हो । ४ हजार ५ सय ८० मिटर उचाइमा अवस्थित च्छो रोल्पा ताल र ४ हजार ७ सय मिटरको पवित्र धार्मिक स्थल दुध कुण्डको सुन्दरताले भिडियोलाई विशेष आकर्षक बनाएको छ । क्यामेराकाे लेन्समा भिडियोलाई लोकेन्द्र सुब्बाले कैद गरेका हुन् भने निर्देशन बिक्रम तिमल्सिनाले गरेका हुन् ।
यसअघि ‘माया’, ‘रातको निन्द्रा’, ‘हामी नेपाली हो’ लगायत थुप्रै गीत सार्वजनिक गरिसकेका सुरेशले ‘सोच’ आफूले फरक भिजन र भावनासहित तयार पारेको बताए । उच्च हिमाली क्षेत्रमै कठिन मेहनतका साथ छायांकन गरिएको भिडियोले पनि पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास उनले लिएका छन् । सुरेशले आगामी दिनमा पनि देशका विविध स्थानमा गएर आफ्ना गीतहरू छायांकन गर्ने योजना बनाइरहेको जानकारी दिए ।
गीतको म्युजिक भिडियो भिलेन–३९ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।