मुख्य बुँदा
सुर्खेतमा १६ वर्षीया बालिका बलात्कारपछि हत्या
घटनाको थप अनुसन्धान सिआइबीले सुरु गर्यो
पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुगेको
मोबाइल फोन डिजिटल फरेन्सिक ल्याबमा पठाइयो
घटनास्थलका प्रमाण केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण हुँदै
काठमाडौं, २९ फागुन । सुर्खेतमा १६ वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको घटनाको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको छ।
घटनाको सूक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षकको कमाण्डमा सिआइबीको टोली तथा नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधिबाट अनुसन्धान भइरहेको छ। उनका अनुसार पोस्टमार्टम रिपोर्टसहित अन्य प्रमाणका आधारमा प्रहरीले गम्भीर रूपमा अनुसन्धान अघि बढाएको र प्रारम्भिक अनुसन्धान सम्पन्न भइसकेको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित धेरै प्रारम्भिक रिपोर्ट प्राप्त भइसकेका छन्। पीडित र संदिग्ध व्यक्तिहरूका मोबाइल फोन डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ।
त्यस्तै मोबाइललगायत अन्य विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलन गरिएका प्रमाणहरू थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छुट्टै अनुसन्धान टोली समेत गठन गरिएको छ।