भर्खरै : Sorry, your browser does not support inline SVG.

भोजपुर, २६ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहबाट आर्थिक, प्राविधिक तथा सामग्री सहयोग उपलब्ध हुन थालेपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख भएका हुन् ।

यहाँका किसानहरूले हाल सुन्तला, एभोकाडो, कागती र जुनारलगायत विभिन्न फलफूलको व्यावसायिक खेती सुरु गरेका छन् । केही किसानले मिश्रित खेती प्रणाली अपनाउँदै फलफूलसँगै मौसमी तरकारी उत्पादनसमेत गर्दै आएका छन् । अनुकूल हावापानी, उर्वर माटो र उपयुक्त भूगोलका कारण भुल्के क्षेत्र फलफूलखेतीका लागि सम्भावनायुक्त मानिएको छ ।

स्थानीय कृषक सीता खड्काका अनुसार वडा र गाउँपालिकाबाट प्राप्त सहयोगले खेतीप्रति उत्साह थपिएको छ । पहिले सामान्य रूपमा खेती गर्दा उत्पादन सीमित हुने गरेको भए पनि अहिले बिरुवा, मल, तालिम तथा प्राविधिक सल्लाह पाएपछि व्यावसायिक रूपमा खेती गर्ने आत्मविश्वास बढेको उनले बताइन् ।

वडा कार्यालयका अनुसार कृषिलाई आयआर्जनको दिगो माध्यम बनाउने उद्देश्यसहित योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । किसानको आवश्यकता र व्यावसायिक योजनाका आधारमा फलफूलका बिरुवा, मल तथा बीउबिजन वितरण गरिँदै आएको छ । साथै प्राविधिक जनशक्तिमार्फत बाली व्यवस्थापन, रोग नियन्त्रण र आधुनिक खेती प्रविधिबारे तालिमसमेत प्रदान गरिँदै आएको छ ।

वडाध्यक्ष रामु थापामगरका अनुसार स्थानीय हावापानी र भूगोलअनुसार उपयुक्त बाली छनोट गर्न किसानलाई प्रोत्साहित गरिएको छ । व्यावसायिक कृषिमार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइएको उनले बताए ।

फलफूल तथा तरकारी उत्पादनलाई प्रोत्साहन गर्न ‘एक घर–एक टनेल’ कार्यक्रम सञ्चालन गरिएको छ । साथै सिँचाइ सुविधा विस्तार गर्न सिँचाइ पोखरी निर्माणको कामसमेत भइरहेको छ । उत्पादन बढेसँगै बजारीकरणमा समस्या नआओस् भनेर बजार व्यवस्थापनका विषयमा पनि योजना बनाइएको जनाइएको छ ।

स्थानीय सरकारको पहल, प्राविधिक सहयोग र किसानको मेहेनतले भुल्के क्षेत्रलाई फलफूल उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखिएको छ । व्यावसायिक खेती विस्तारसँगै रोजगारी सृजना, आयवृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ ।

मुख्य बुँदा 

पूर्वसैनिक घलेको फार्मबाट वार्षिक ५५–६० लाख आम्दानी

२५० बोट ड्रागन फ्रुट, वर्षमा ९ पटक उत्पादन

बिरुवा बिक्रीबाट पनि आम्दानी

रोजगार सिर्जना: स्थायी कर्मचारी र दैनिक ज्यालादार

अन्य युवाहरू पनि ड्रागन खेतीमा आकर्षित

सुनसरी, २० कार्तिक । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् ।

उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन्

गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो । सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उनले जानकारी दिए।

व्यवसायी गुरुङले भने, “फार्ममा हाल करिब २५० बोट ड्रागन फ्रुट लगाएको छु । अन्य फलफूलले वर्षमा एकपटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ । त्यही भएकाले आय स्थिर हुन्छ ।”

उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ । वार्षिक रूपमा रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताए । पहिले प्रतिबोट रु २०० देखि रु ४०० सम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार रु ५० देखि रु ७० मा बिक्री हुने गरेको उनले बताए । ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो रु ४०० र होलसेलमा रु ३५० मा बिक्री हुने गरेको छ ।

फार्ममा मासिक रु १५ हजार तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक रु ७०० सय ज्यालादरमा दर्जनभन्दा बढी कामदारले काम पाइरहेका छन् । फल टिप्ने तथा मल हाल्ने याममा कामदार सङ्ख्या अझ बढी हुने गरेको छ । गुरुङले भने, “ फार्म सञ्चालन, मलखाद्य, औजार तथा श्रमिक लागतबापत वार्षिक करिब रु आठ लाख खर्च हुने गरेको छ । गत वर्ष २२ मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ । उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौँ, पोखरा र हेटौँडासम्म बिक्रीका लागि पठाउने गरेको छु ।”

आम्दानी राम्रो भएकाले पछिल्लो समय यस खेतीतर्फ अन्य युवाको पनि आकर्षण बढ्दै गएको छ । अवकाशपछि कृषि उद्यममा लागेका घलेका अनुसार देशमै बसेर कृषि व्यवसायमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गर्न सकिने सम्भावना छ । हाल सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरू पनि ड्रागन खेतीमा लागिरहेका छन् । रासस