तेहरान । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजबाट विभिन्न सेवा शुल्क उठाउने प्रस्ताव स्वीकृत गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले स्ट्रेट अफ होर्मुजको सुरक्षा तथा विकासका लागि रणनीतिक कार्ययोजनाअन्तर्गत रहेको विधेयकको धारा ३ पारित गरेको आयोगका प्रवक्ता हसन कास्कावीले जानकारी दिएका छन् ।
यसअघि आयोगको बैठकमा उक्त धारामाथि निर्णय हुन सकेको थिएन । आइतबारको बैठकमा भने प्रस्ताव स्वीकृत गरिएको हो ।
स्वीकृत प्रावधानअनुसार स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने र इरानले उपलब्ध गराउने समुद्री सेवा, वातावरणीय सेवा, विशेष परिस्थितिमा इन्धन आपूर्ति, बीमा, सुरक्षा तथा अन्य सेवाबापत शुल्क लिन सकिनेछ ।
आयोगका प्रवक्ता कास्कावीका अनुसार स्ट्रेट अफ होर्मुज पार गर्न अनुमति पाएका देशका जहाजबाट यस्तो शुल्क असुल गरिनेछ । शुल्क इरानी रियालमा वा इरानले निर्धारण गरेको अन्य कुनै मुद्रामा लिन सकिने व्यवस्था प्रस्तावमा राखिएको छ ।
उनले स्ट्रेट अफ होर्मुजका तटीय राष्ट्रहरूको अधिकारलाई समेत ध्यान दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय कानुन तथा नियमले जलमार्गबाट आवतजावत गर्ने स्वतन्त्रतालाई मान्यता दिए पनि तटीय राष्ट्रको सुरक्षा र सार्वभौमिकताको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
कास्कावीले फारसको खाडी र स्ट्रेट अफ होर्मुजका आफ्नै नियम तथा विशेष परिस्थितिहरू रहेको उल्लेख गरेका छन् ।
उनले सन् १९८२ को समुद्री कानुनसम्बन्धी महासन्धि स्वीकार गरेपछि ओमानले गरेको राजनीतिक घोषणाको समेत स्मरण गराएका छन् । उक्त महासन्धिका प्रावधानले राष्ट्रिय सार्वभौमिकता र सुरक्षामा असर पार्न नहुने ओमानले स्पष्ट पारेको उनको भनाइ छ ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक हो । यसबाट ठूलो परिमाणमा तेल तथा अन्य ऊर्जा सामग्रीको अन्तर्राष्ट्रिय व्यापार हुने भएकाले इरानले अघि सारेको शुल्कसम्बन्धी प्रस्तावले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा चासो बढाउने देखिएको छ ।
