काठमाडौँ, ९ भदाै । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण हर्मुज जलडमरूमध्य, लाल सागर र बाब अल–मन्देबजस्ता महत्वपूर्ण समुद्री मार्गमा सुरक्षा जोखिम बढिरहेका बेला चीनले युरोप जोड्ने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ । चीनले यसलाई ‘आइस सिल्क रोड’ नाम दिएको छ ।
यो समुद्री मार्ग चीनको पूर्वी तटीय सहर निङ्बोबाट सुरु भएर रुसको नर्दन सी रुट हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्सस्टो बन्दरगाहसम्म पुग्छ । चिनियाँ कम्पनी ‘सी लेजेन्ड’ले यस मार्गमा यसअघि परीक्षण यात्रा गरिसकेको थियो । उक्त परीक्षण यात्राका क्रममा चीनबाट युरोप पुग्न करिब २० दिन लागेको जनाइएको छ ।
मध्यपूर्वमा बढ्दो द्वन्द्व र समुद्री सुरक्षाको जोखिमले विश्वव्यापी व्यापारिक ढुवानीमा चुनौती थपिरहेका बेला चीनले आर्कटिक मार्गलाई वैकल्पिक व्यापारिक रुटका रूपमा अघि सारेको हो ।
हर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा व्यापारिक मार्गमध्ये एक हो । यही मार्गबाट ठूलो मात्रामा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको कारोबार हुने गर्छ ।
मध्यपूर्वमा तनाव बढेपछि केही अन्तर्राष्ट्रिय पानीजहाज कम्पनीहरूले लाल सागर र स्वेज नहरको विकल्प खोजिरहेका छन् । यस्तो अवस्थामा आर्कटिक हुँदै युरोप पुग्ने समुद्री मार्गप्रति चीनसहित विभिन्न देश र व्यापारिक कम्पनीको चासो बढेको छ ।
आर्कटिक समुद्री मार्ग छोटो दूरी र सम्भावित समय बचतका कारण आकर्षक देखिए पनि यसलाई वर्षभरि सञ्चालन गर्न भने सहज छैन । अत्यधिक चिसो, समुद्री बरफ र प्रतिकूल मौसम यस मार्गका मुख्य चुनौती हुन् ।
विशेषज्ञहरूका अनुसार आर्कटिक मार्ग तत्काल स्वेज नहरको पूर्ण विकल्प बन्ने सम्भावना कम छ । तर निश्चित मौसममा सञ्चालन हुने वैकल्पिक व्यापारिक मार्गका रूपमा यसको महत्व भने बढ्न सक्छ ।
पछिल्ला वर्षहरूमा आर्कटिक क्षेत्र अमेरिका, रुस, चीन र युरोपबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ । व्यापारिक मार्गको विकाससँगै यस क्षेत्रमा सुरक्षा, स्रोतसाधन र भू–राजनीतिक प्रभावलाई लिएर प्रतिस्पर्धा अझ तीव्र हुन सक्ने देखिन्छ ।
चीनको ‘आइस सिल्क रोड’ ले तत्कालै विश्व व्यापारको नक्सा परिवर्तन गर्ने सम्भावना कम भए पनि यसले आर्कटिक क्षेत्र भविष्यको विश्व व्यापार र भू–राजनीतिक प्रतिस्पर्धाका लागि महत्वपूर्ण बन्दै गएको संकेत गरेको छ ।
