भर्खरै : Sorry, your browser does not support inline SVG.

तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो

तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो

काठमाण्डौ, ९ भदौ । पहिरोका कारण डेढ महिनादेखि अवरुद्ध तातोपानी नाका जोड्ने कोदारी राजमार्गको इको खण्ड अस्थायी रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय चरिकोट, दोलखाले नयाँ अस्थायी ट्र्याक निर्माण गरेपछि सोमबारदेखि यो सडकमा सवारीसाधन चल्न थालेका हुन् ।

भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गएको असार ३१ गते पहिरोसँगै सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले करिब १० दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेपछि सिन्धुपाल्चोकको बाह्रबिसेदेखि लिपिङ बसपार्कसम्म यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको हो ।

सडक खुलाउन टिपर तथा ठूला मेसिन परिचालन गरिएको थियो । नयाँ ट्र्याक निर्माण भएपछि कोदारी बजारमा रोकिएका कन्टेनरहरू भन्सारतर्फ जान थालेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार अन्तर्राष्ट्रिय राजमार्ग लामो समय बन्द हुँदा व्यवसायीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । लिपिङपारि अझै करिब ८५ वटा कन्टेनर अलपत्र छन् ।

लिपिङको अवरोध अझै कायमै

इको खण्ड अस्थायी रूपमा खुले पनि तातोपानी नाका हुँदै चीनको सीमासम्म यातायात सहज रूपमा सञ्चालन हुन लिपिङको अवरोध हटाउनुपर्ने भएको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

लिपिङमा पहिरोका कारण सडकमुनिको जमिन बगेको र भोटेकोशी नदीको निरन्तर कटान भइरहेकाले पुनर्निर्माण कार्य जटिल बनेको उहाँले बताउनुभएको छ । लिपिङको काम सकिएलगत्तै चीनको सीमासम्म यातायात पूर्ण रूपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

दशैँ–तिहारका लागि आयात सहज हुने अपेक्षा

पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हटाउन सहज हुने व्यवसायीको विश्वास छ । दशैँ–तिहारका लागि आवश्यक सामान आयात गर्न तातोपानी नाका सहज रूपमा सञ्चालनमा आउनुपर्ने उनीहरूको भनाइ छ ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले इको क्षेत्रमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म तातोपानी नाका पूर्ण रूपमा सहज सञ्चालन हुन नसक्ने बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.