भर्खरै : Sorry, your browser does not support inline SVG.

राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य

राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य

मुख्य बुँदा

राक्सिराङ–३ पलाँसेको सीता अशोक बाटिका धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ ।

अशोक वृक्षको छहारीमा सीता र त्रिजटाका मूर्ति राखिएका छन् ।

जलपरी झरना, चमेरे गुफा र भ¥याङ कालिकासँग जोडेर एकीकृत पर्यटन क्षेत्र बनाउने योजना छ ।

राम रावणको धार्मिक कथालाई जीवन्त बनाउने गरी रावणको दरबार र विशाल हनुमानको मूर्तिसहित रामको दरबार निर्माण गर्ने योजना छ ।

प्रस्तावित पूर्वाधार निर्माणका लागि करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

हेटौँडा, ९ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा रहेको सीता अशोक बाटिका धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । अशोक वृक्षको छहारीमा राखिएका सीता र त्रिजटाका मूर्तिले यहाँ पुग्ने पर्यटक तथा श्रद्धालुलाई त्रेतायुगको झल्को दिने गरेको छ ।

डिभिजन वन कार्यालय, राप्ती मनहरीको आयोजना, भ¥याङ कालिका सामुदायिक वनको व्यवस्थापन तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा सीता र त्रिजटाको मूर्ति निर्माण गरिएको हो । विसं २०८० असार १८ गते बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको थियो ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट प्राप्त फूलमाला, पाती तथा प्रसाद र प्रसिद्ध दूधमती नदीबाट ल्याइएको जलबाट मूर्तिमा सेचन गरिएकाले यस स्थानको धार्मिक महत्व थप बढेको स्थानीयको विश्वास छ ।

अशोकका वृक्ष संरक्षण गर्दै बाटिका विस्तार गरिने

यस क्षेत्रमा प्राकृतिक रूपमा नै अशोकका रुखहरू रहेका छन् । डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाका अनुसार विद्यमान अशोकका वृक्ष संरक्षण गर्नुका साथै थप बिरुवा रोपेर परिसरलाई व्यवस्थित अशोक बाटिकाका रूपमा विकास गर्ने योजना छ ।

सीता अशोक बाटिकामा राखिएका सीता र त्रिजटाका मूर्तिलाई विश्वमै दुर्लभ मानिने विश्वास छ । रावणले सीतालाई लङ्का पुर्‍याएपछि उनको रेखदेखका लागि त्रिजटालाई खटाइएको धार्मिक ग्रन्थ तथा किंवदन्तीमा उल्लेख छ ।

त्रिजटाले सीतालाई रामले लङ्कामाथि विजय हासिल गर्ने र पुनः रामसँग भेट हुने सकारात्मक सन्देश दिएर हौसला प्रदान गरेको धार्मिक कथन पाइन्छ । यही भूमिकाका कारण त्रिजटाको मूर्तिसमेत यहाँ राखिएको स्थानीयवासी बताउँछन् । मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनले करिब साढे दुई महिनामा उक्त मूर्ति निर्माण गरेका हुन् ।

धार्मिक तथा प्राकृतिक पर्यटन जोड्ने योजना

राक्सिराङ गाउँपालिकाले सीता अशोक बाटिकालाई जलपरी झरना, चमेरे गुफा र भ¥याङ कालिका मन्दिरसँग जोडेर धार्मिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने योजना अघि सारेको छ ।

राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाका अनुसार प्रकृति र संस्कृतिलाई जोडेर पर्यटकलाई लामो समयसम्म बस्न सक्ने वातावरण निर्माण गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।

भ¥याङ कालिका मन्दिरमा हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ । उक्त मेलामा पूर्वको विराटनगरदेखि पश्चिमको बुटवलसम्मका दर्शनार्थी आउने गरेको बताइएको छ । मङ्सिर पूर्णिमाको मेलामा करिब ३० हजार दर्शनार्थी सहभागी हुने गरेको वडाध्यक्ष वाइबाले जानकारी दिनुभयो ।

राम र रावणको दरबार बनाउने योजना

सीता हरणपछि रावणले सीतालाई अशोक बाटिकामा राखेको धार्मिक कथालाई जीवन्त बनाउने उद्देश्यले परिसरमा रावणको दरबार निर्माण गर्ने योजना अघि सारिएको छ । वडाध्यक्ष वाइबाका अनुसार अशोक बाटिकासँगै पारी पचभैयामा विशाल हनुमानको मूर्तिसहित रामको दरबार निर्माण गर्ने सोचसमेत अघि बढाइएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।

प्रस्तावित योजनाका लागि करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारको सहयोग लिएर परियोजना अघि बढाउने तयारी गरिएको छ । सीता अशोक बाटिका, जलपरी झरना, चमेरे गुफा तथा चेपाङ सङ्ग्रहालयलगायत क्षेत्रलाई एकीकृत गरी राक्सिराङलाई प्रकृति, संस्कृति र धार्मिक पर्यटनको विशेष गन्तव्य बनाउने सम्भावना रहेको स्थानीय सञ्चारकर्मी रामकुमार एलन बताउनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.