भर्खरै : Sorry, your browser does not support inline SVG.

मुख्य बुँदा 

कृष्णपुरको वनहरा क्षेत्रमा मुक्तकमैया परिवार बगरखेतीमा संलग्न

काँक्रा, तरबुजा, लौका, करेला लगायत उत्पादन गरी राजमार्ग किनारमै बिक्री

दैनिक करिब रु ५ हजारदेखि सिजनमा रु १ लाखसम्म आम्दानी

करिब ८० भन्दा बढी परिवार बगरखेतीमा आश्रित

सानो लगानीमा खेती सुरु गरी घरखर्च चलाउने व्यवस्था

सडक छेउमै व्यापार गर्दा दुर्घटनाको जोखिम रहेको गुनासो

व्यवस्थित बजार र सरकारी सहयोगको माग

बगरखेती आत्मनिर्भरता र जीविकाको प्रमुख आधार बन्दै गएको

कञ्चनपुर, २७ बैशाख । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् ।

तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्तकमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ । कृष्णपुर नगरपालिका–२ का नीरज राना विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन्।

राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारी चालक र यात्री हुन् । बिहानदेखि साँझसम्म सडक छेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको उनी बताउछन् । राना मुक्तकमैया बस्तीमा बस्नुहुन्छ । सरकारले करिब तीन दशकअघि पुनःस्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर रानाको परिवार बस्दै आएको छ ।

माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगरखेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घर नजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ । “दैनिक पाँच हजार रुपैयाँ जतिको बिक्री हुन्छ”, रानाले भने, “सिजनभरिमा रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।”

वनहरा मुक्तकमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगरखेतीमा संलग्न छन् । नदीकिनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत लिजमा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, तोरैयाँ र करेला लगाएका छन्।

“गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो”, उनले भने, “त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु । सिजनमा रु पाँच लाखसम्मको बिक्री हुन्छ, जसबाट रु दुई लाखदेखि रु तीन लाखसम्म बचत हुन्छ ।” उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोतका रूपमा रहेको छ । “अरू गरिखाने आधार छैन”, उनले भने, “यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।”

सडक किनारमा तरबुजा प्रतिकिलो रु २५, काँक्रा ४०, तोरैयाँ ६० र तितेकरेला रु ५० प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा रु १५ मा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् । तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

“राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ”, उनले भने, “यहाँका काँक्रा र तरकुजा निकै मीठा हुन्छन् । स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।” तर सडक छेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्रगतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्तकमैया बताउँछन् ।

तरकारी तथा फलफूल बिक्रीमा संलग्न धिरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । “नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो”, उनले भने, “व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो, तर अहिलेसम्म कुनै पहल भएको छैन ।”

बगरखेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठूलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै रु ३० हजारदेखि रु एक लाखसम्म खर्च हुने गरेको छ । मलखाद, बीउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् । “खेती गर्न सजिलो छैन”, उनले भनिन्, “दिनरात मिहिनेत गर्नुपर्छ । राम्रो स्याहारसुसार गरेमात्रै उत्पादन राम्रो हुन्छ ।”

स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताए । “खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ”, उनले भने, “यसले घरधन्दा धानेको छ ।”

विरा रानाका अनुसार बगरखेतीले मुक्तकमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । “बगरमा बगाएको पसिना खेर जाँदैन”, उनले भने, “परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।”

रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्तकमैया परिवारका लागि बगरखेती आम्दानीको स्रोतमात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ । तर कृषि अनुदान, सिँचाइ, बीउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्तकमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् ।

“यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ”, लीलावती वडायकले भनिन्, “बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।” वनहरा नदीकिनारको बगर अहिले मुक्तकमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्तकमैया परिवारको घरखर्चमात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ । रासस

काठमाडौं,  १९ पुस । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज बजारमा तरकारीदेखि फलफूलसम्मको मूल्यमा वस्तु अनुसार फरक–फरक दर कायम गरिएको छ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार गोलभेँडा ठूलो (नेपाली) र गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२० रुपैयाँमा कारोबार हुँदैछ । गोलभेँडा सानो (लोकल) ९०, सानो (टनेल) १००, सानो (भारतीय) ९६ र सानो (तराई) पनि ९६ रुपैयाँ प्रतिकिलो तोकिएको छ । आलु रातो प्रतिकिलो ३२, आलु रातो (भारतीय) २७ र प्याज सुकेको (भारतीय) ५५ रुपैयाँ कायम गरिएको छ ।

तरकारीतर्फ गाजर (लोकल) ७०, गाजर (तराई) ६५, बन्दा (लोकल) ४५, बन्दा (तराई) ३५, बन्दा (नरिबल) ४०, काउली स्थानीय ७०, काउली (ज्यापू) ८०, काउली तराई ५५, रातो मूला ४०, सेतो मूला (लोकल) २०, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ । भन्टा लाम्चो ६०, भन्टा डल्लो ७० र मकै बोडी ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

यसैगरी, मटरकोसा १००, घिउ सिमी (लोकल) १००, घिउ सिमी (हाइब्रिड) ९०, घिउ सिमी (राजमा) १५०, टाटे सिमी ८०, तिते करेला ११०, लौका ७०, परबर (तराई) १६०, घिरौँला ११०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो र डल्लो) दुबै ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ । भिन्डी ११०, सखरखण्ड ८०, बरेला ७०, पिँडालु ९० र स्कुस ३० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

सागसब्जीतर्फ रायोसाग ४०, पालुङ्गो ८०, चमसुर ८०, तोरीको साग ५०, मेथीको साग ८०, हरियो प्याज ६०, बकुला ९०, तरुल ७०, च्याउ (कन्य) १२०, च्याउ (डल्ले) ४०० र कुरिलो प्रतिकिलो २,४०० रुपैयाँ तोकिएको छ ।

यस्तै, ब्रोकाउली १२०, चुकुन्दर ८०, रातो बन्दा १५०, जिरीको साग १५०, गाँठकोभी ८५, सेलरी ३००, पार्सले ७००, सौफको साग ८०, पुदिना ३००, गान्टेमुला ८०, इमली १८०, तामा १२०, तोफु १५० र गुन्द्रुक ४०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

फलफूलतर्फ स्याउ (झोले) २५०, स्याउ (फुजी) ३५०, केरा (दर्जन) २००, कागती ९०, अनार ३५०, सुन्तला (नेपाली) ११०, तरबुजा १००, मौसम ११०, जुनार १२०, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ तोकिएको छ । काँक्रो (लोकल) ११०, काँक्रो (हाइब्रिड) ५०, निबुवा ७०, नास्पाती (चाइनिज) २३०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) १००, लप्सी ७५, स्ट्रबेरी ५००, किबी ३५०, सरिफा २०० र एभोकाडो ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

मसला तथा अन्य वस्तुमा अमला ७५, अदुवा ८०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १००, हरियो खुर्सानी (बुलेट) १२०, हरियो खुर्सानी (अकबरे) ४००, हरियो खुर्सानी (माछे) १००, भेडे खुर्सानी १००, हरियो लसुन १००, हरियो धनियाँ ११०, लसुन सुकेको (चाइनिज) ४४० र लसुन सुकेको (नेपाली) २८० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

त्यसैगरी, छ्यापी सुकेको २००, छ्यापी हरियो १८०, माछा सुकेको १,०००, ताजा माछा (रहु) ३४०, ताजा माछा (बचुवा) २८०, ताजा माछा (छडी) २५०, रूख टमाटर २५०, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ ।

 

 

मुख्य बुँदा

श्यामशिलाका ३० भन्दा बढी घरधुरी किसान व्यावसायिक किवीखेतीमा लागेका

‘पकेट’ क्षेत्र निर्धारण र प्रोत्साहन कार्यक्रमका कारण खेती बढ्यो

उत्पादन बिक्रीबाट किसान घरखर्च टार्न सक्षम

श्यामशिला–लेगुवा सडक नजिक उत्पादन सजिलै बिक्रीमा

गाउँपालिकाले अन्य वडामा कागती, एभोकाडो फलफूल विकास कार्यक्रम सञ्चालन

भोजपुर, २९ साउन। पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् ।

गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताए ।

यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा सडक नजिक भएकाले किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्दै आएका छन् ।

कृषि किसानको मुख्य आम्दानीको स्रोत भएकाले गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा सागसब्जीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती भइरहेको बताउँदै उनले भने “श्यामशिलामा किवीको प्रशस्त सम्भावना भएकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, एभोकाडोलगायत फलफूल विकास कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । ” रासस

नवलपरासी, १० साउन । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती–९ बस्ने सीता जिसी राउतले कौसीमा ड्रागन खेती गरेर वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी लिन सफल हुनुभएको छ ।

तीन वटा बिरुवाबाट कौसीमा शुरुआत गरेको खेती अहिले एक सय ३५ वटा गमलामा विस्तार भएको छ । राउतले बारीमा चार सय २४ वटा ड्रागन बोट रोप्नुभएको छ । घरमै खानका लागि चार वर्ष पहिला शुरु गरेको खेती अहिले व्यावसायिक बन्दै गएको छ । ‘युट्युब’बाट हेरेर कौसीमा ड्रागन खेतीको शुरुआत गरेको उहाँले बताउनुभयो ।

शुरुमा मलेशियन ‘सी भेराइटी’को तीन वटा बिरुवा दुई हजार एक सय रुपैयाँमा पनौतीबाट लगेर लगाएको राउत बताउनुहुन्छ । खेती शुरु गर्दा २५ हजार लगानी भएको तर अहिले फल र बिरुवा समेत बिक्री गरी आम्दानी लिन थालेको उहाँको भनाइ छ ।

‘मैले शुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा नै बिक्री गर्न थालेँ, अहिले धेरैजना बिरुवा लिन आउनुहुन्छ । यसपालि झन्डै दुई लाख रुपैयाँको त बिरुवा नै बेचेँ’, जिसीले भन्नुभयो ।

उहाँका अनुसार असार पहिलो हप्तादेखि उत्पादन शुरु भएकामा तीन लट बिक्री गरी अहिले चौथो लट टिप्ने भएको छ । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरेको राउतको भनाइ छ ।

स्थानीय बजार र मुख्य शहर नारायणगढ, बुटवल तथा काठमाण्डौमा पनि बिक्री गर्न सकिने भएकाले बजारका लागि कुनै समस्या नभएको उहाँले बताउनुभयो ।

फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती उपयुक्त रहको जिसीको अनुभव छ । रासस