काठमाडौं, ८ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरिएको जनाएको छ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसम्बन्धी वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले नेपालमा सञ्चालन भइरहेका त्यस्ता प्लेटफर्ममाथि कारबाही अघि बढाएको हो।
प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप आयोजना भएयता बेटिङ एप र वेबसाइटको प्रयोग बढ्न सक्ने आकलन गर्दै विशेष निगरानी गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोपछि यस कार्यलाई थप तीव्र बनाइएको जनाइएको छ।
प्राधिकरणले यसका लागि छुट्टै टास्क फोर्स गठन गरेको छ। टास्क फोर्समा रहेका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप अवधिभर इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिसँग समन्वय गरेर अवैधानिक वेबसाइटका यूआरएल ब्लक गर्ने काम गरिएको थियो।
उनका अनुसार यस्ता वेबसाइट एक–एक गरी खोज्न कठिन हुने भएकाले विभिन्न निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसम्बन्धी वेबसाइटहरूलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिँदै आएको छ। एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ नाममा सञ्चालन हुने चुनौती रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरेर नयाँ वेबसाइट पहिचान गरी तत्काल ब्लक गर्ने व्यवस्था गरिएको पनि उनले बताए।
प्राधिकरणले नागरिकलाई पनि यस्ता अवैधानिक वेबसाइट वा एपबारे जानकारी भए सम्बन्धित माध्यममार्फत सूचना उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ।
काठमाण्डौ, १५ असार । सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा स्थान सुरक्षित गरेको छ।
लस एन्जलसमा सम्पन्न खेलमा स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको आकर्षक गोल नै क्यानडाको ऐतिहासिक जितको आधार बन्यो। उक्त गोलपछि दक्षिण अफ्रिकाले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन।
तेस्रो पटक विश्वकपमा सहभागी भएको क्यानडा यसअघि दुवै संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो।
समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा पुगेको क्यानडाले अब मोरक्को वा नेदरल्यान्ड्समध्ये एक टोलीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
दक्षिण अफ्रिका भने समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १६ पुगेको भए पनि क्यानडाविरुद्ध अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।
क्यानडाले समूह चरणमा पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरी खेलेको थियो। दोस्रो खेलमा कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको क्यानडा अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित भए पनि उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो।
यसैबीच, विश्वकपअन्तर्गत आज नेपाली समयअनुसार राति १०ः४५ बजे अमेरिकाको होस्टन स्टेडियममा ब्राजिल र जापानबीच अन्तिम १६ को अर्को प्रतिस्पर्धा हुनेछ।
काठमाडौं, १३ असार। फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
यस जितसँगै समूह ‘आई’ मा तीन खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा पुगेको छ। समूहबाट फ्रान्स र नर्वे भने यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन्।
गोलअन्तर सुधार गरेको सेनेगल उत्कृष्ट तेस्रो हुने आठ टोलीमध्ये एकका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। यद्यपि, त्यसका लागि अन्य समूहका खेलको नतिजामा पनि भर पर्नुपर्नेछ।
सेनेगलका लागि पापे गइएले दुई गोल गरे भने हबिब डियरा, इस्माइला सार र इलिमान एनडिएले समान एक–एक गोल थपे। यससँगै सेनेगल विश्वकपको एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ।
यता, समूह ‘एच’ अन्तर्गत केप भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेनबीच खेल जारी छ। हाल स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ भने उरुग्वे २ अंकसहित दोस्रो, केप भर्डे तेस्रो र साउदी अरेबिया १ अंकसहित चौथो स्थानमा रहेका छन्।
त्यसैगरी, समूह ‘जी’ अन्तर्गत न्युजिल्यान्ड–बेल्जियम तथा इजिप्ट–इरानबीचका खेल पनि निर्धारित समयअनुसार हुँदैछन्।