भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मुख्य बुँदा

केदार अधिकारीले २०४३ सालमा इटहरीमा ‘पशुपति नर्सरी’ स्थापना गरे।

सुरुआती लगानी रु २.५ लाख, अहिले रु १ करोडभन्दा बढीमा रूपान्तरण।

वार्षिक आम्दानी रु ३५–४० लाख, सात युवालाई प्रत्यक्ष रोजगारी।

२५ सयभन्दा बढी बिरुवाका प्रजाति, केही विदेशी बिरुवा आयात।

अनलाइन माध्यममार्फत देशभर डेलिभरी सेवा।

पुर्ख्यौली पेसाबाट आत्मनिर्भर बनेका युवा उद्यमी।

सुनसरी, १६ कार्तिक । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् ।बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे ।

सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउँछन् । अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गरेका थिए ।

हजुरबुबाबाट प्रेरित भएर उनका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गरे । अधिकारीले भने, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगन्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।”

सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उनी सम्झन्छन्, “बुबा बिरुवा रोप्नुहुन्थ्यो, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे । फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।”

केही समयअघि मात्र क्यानडा पुगेका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो । उनलाई अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो । दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहेका छन् ।

हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ”, अधिकारी भन्छन्।

पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् । मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारीलगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताए ।

“नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ”, उनले भने । अधिकारीले सञ्चालन गरेका नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उनको भनाइ छ ।

अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युट्युब, गुगललगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ । “हामीले देशभर ‘डेलिभरी’ गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर बिदेसिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ । फूल र बिरुवाले मलाई आर्थिक मात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ”, उनले भने ।

पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ । रासस