काठमाण्डौ, ७ भाद्र । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाण्डौको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको घुइँचो लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ ।
विशेषगरी आजको दिन दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गरिएको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयो । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने गाडीलाई चलाउन रोक लगाइएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ ।
यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवम् गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो ।
मेलामा पुगेका भक्तजनले गाडीको असुविधा भएको दुखेसो समेत पोखेका छन् । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ । रासस
काठमाण्डौ, ७ भाद्र । सर्वोच्च अदालतले बाबु–आमाले कमाएको वा पाएको सम्पत्तिमा सौतेनी छोराछोरीलाई पनि आफ्ना छोराछोरीसरह हक लाग्ने स्पष्ट व्याख्या गरेको छ । न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले २०८१ साल चैतमा गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गर्दै, सौतेनी र आफ्ना छोरा भनेर अंशमा विभेद गर्न नपाइने निर्णय गरेको हो ।
सर्वोच्चको व्याख्याअनुसार, अंशबण्डाको प्रयोजनका लागि “आमा वा छोराछोरी” र “सौतेनी आमा वा सौतेनी छोराछोरी”लाई कानूनी रूपमा समान अर्थमा लिनुपर्ने हुन्छ ।
फैसालामा भनिएको छ ।
बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक मानिनेछ ।
सौतेनी आमाले बकसपत्र, दाइजो वा अन्य माध्यमबाट प्राप्त गरेको सम्पत्ति पनि आफ्ना छोराछोरीलाई पैतृक ठहरिनेछ ।
फैसलाले अंश धन अन्तर्गतको सम्पत्ति आफ्नै छोरालाई मात्र पैतृक सरह हुने तर सौतेनी छोरालाई नहुने भन्ने व्याख्या कानूनी व्यवस्था र यसको मर्म विपरीत हुने ठहर गरेको छ ।