भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ढाका, ४ फागुन। बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण समारोहमा नेपालसहित १३ देशका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा पठाइएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार भारतको तर्फबाट ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले समारोहमा प्रतिनिधित्व गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने जनाइएको छ। बीबीसी हिन्दीलाई उद्धृत गर्दै भारतीय विदेश मन्त्रालयले लोकसभा अध्यक्ष बिरलाको सहभागिताले भारत–बंगलादेशबीचको दीर्घकालीन मित्रता र साझा लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने जनाएको छ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बहुमतसहित सरकार गठन गर्न लागेको हो। पार्टी अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ। ढाकास्थित अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपाल, चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई समारोहमा निमन्त्रणा पठाएको जनाइएको छ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार यसपटक परम्परा तोड्दै शपथग्रहण समारोह ढाकास्थित राष्ट्रिय संसद परिसरमा आयोजना हुनेछ। नवनिर्वाचित सांसदहरूको शपथ बिहान १० बजे र मन्त्रिपरिषद्को शपथ दिउँसो ४ बजे हुने तालिका रहेको छ।

३ सय सदस्यीय संसदमा बीएनपी गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि दक्षिण एशियाली राजनीति तथा भारत–बंगलादेश सम्बन्धमा नयाँ समीकरण बन्ने आकलन गरिएको छ। चुनावी परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री मोदीले तारिक रहमानलाई टेलिफोन गरी बधाई दिएको विषयलाई दुई देशबीच सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ।