भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाल, तमिलनाडु र ओडिसामा चक्रवात ‘मोन्था’ ले व्यापक असर पारेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार तटीय क्षेत्रमा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ। धेरै ठाउँमा रूखहरू ढलेका छन् र समुद्र तटमा अग्ला छालहरू उठेका छन्। चारै तटीय राज्यका जोखिमपूर्ण क्षेत्रबाट ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

विद्यालयहरू बन्द गरिएका छन् र प्रशासनले आपतकालीन सतर्कता अपनाएको छ। बङ्गालको खाडीमा विकसित यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ। मोन्था हिजो बेलुका आन्ध्र प्रदेशको मछलीपट्टनम तटमा ठोक्किन शुरू गरेको थियो र यो प्रक्रिया राति एक बजेसम्म जारी थियो।

आन्ध्र प्रदेश सरकारले झण्डै ४० लाख मानिस जोखिम क्षेत्रमा रहेको जनाएको छ। जलवायु विज्ञहरूका अनुसार दक्षिण एशियामा पछिल्ला वर्षहरूमा यस्ता गम्भीर आँधीबेहरीहरू तीव्र र अनियमित हुँदै गइरहेका छन्।

सन् २०२३ मा भारतले इतिहासकै सबैभन्दा विनाशकारी चक्रवातको सामना गरेको थियो, जसमा ५२३ जनाको मृत्यु भएको थियो।

काठमाडौँ, १२ कार्तिक । देशभर अहिले मौसम बदली रहेको छ। आज दिउँसोपख मौसम केही स्थानमा खुले पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव नेपालमा सक्रिय रहेको बताइएको छ। गण्डकी प्रदेशका केही ठाउँमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै स्थानमा, साथै बाँकी पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपात भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम सामान्यतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहने अनुमान छ। गएराति काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भएको थियो। आज राति पनि देशभर आंशिक बदली रहने सम्भावना छ।

मौसमविद्हरूका अनुसार वर्षा र हिमपातका कारण नदीनाला तथा खोल्सामा आकस्मिक बहाव, पहिरो, र सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी दिइएको छ। साथै कृषि र पर्यटन क्षेत्रमा पनि यसको प्रभाव पर्ने अनुमान गरिएको छ। त्यस्तै भोलिदेखि शनिवार बिहानसम्म बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असर नेपालमा देखिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूलाई सकेसम्म भोलि र पर्सि यात्रा नगर्न, तातो भएर बस्न र मौसमी सूचनाबारे जानकारी रहन अनुरोध गरेको छ। किसानलाई धान तथा अन्य बाली नकाट्न र काटिएको भए तत्काल भित्र्याउन पनि आग्रह गरिएको छ।