भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

लन्डन, १४ कार्तिक । बेलायतका राजा चार्ल्सका भाइ राजकुमार एन्ड्रयूलाई राजकुमारको उपाधिबाट वञ्चित गर्ने प्रक्रिया सुरु गरिएको छ । यससँगै उनलाई विन्डसरस्थित रोयल लजबाट हटाइने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बकिङ्घम दरबारले बिहीबार राति विज्ञप्ति जारी गर्दै राजा चार्ल्सले एन्ड्रयूका सबै शाही पद, उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । एन्ड्रयूले यसअघि नै ड्यूक अफ यर्कसहितका पदहरू त्यागेका थिए । अमेरिकी व्यापारी जेफ्री एप्स्टिनको यौन शोषण प्रकरणसँग नाम जोडिएपछि उनी विवादमा आएका हुन् ।

हालै प्रकाशित भर्जिनिया गिफ्रेको मरणोपरान्त संस्मरणमा उनले किशोरावस्थामै हुँदा राजकुमार एन्ड्रयूसँग तीन पटक यौन सम्पर्क भएको दाबी पुनः दोहोर्याएकी थिइन् । एन्ड्रयूले भने ती सबै आरोप अस्वीकार गर्दै आएका छन् । दरबारले जारी वक्तव्यमा भनिएको छ “एन्ड्रयूले आरोपहरू अस्वीकार गरे पनि यी कारबाहीहरू आवश्यक ठानिएको हो । दरबारले सबै प्रकारका दुव्र्यवहारका पीडितहरूप्रति समर्थन जनाउँछ ।”

एन्ड्रयूलाई अब स्यान्ड्रिङ्घम इस्टेटस्थित निजी आवासमा सारिने भएको छ, जसको खर्च राजा चार्ल्सले व्यहोर्ने जनाइएको छ । उनका छोरीहरू राजकुमारी यूजेनी र बियाट्रिसको शाही उपाधि भने यथावत् रहनेछन् ।

एन्ड्रयूकी पूर्वपत्नी सारा फर्गुसन पनि रोयल लजबाट सर्ने भएकी छन् र उनले आफ्नै बसोबासको व्यवस्था गर्ने बताइएको छ ।ब्रिटिश संस्कृति मन्त्री लिसा न्यान्डीले यो निर्णय यौन शोषण र ग्रुमिङका पीडितहरूको समर्थनमा शक्तिशाली सन्देश भएको बताएकी छिन् ।