भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

दमौली, तनहुँ , १५ साउन ।  तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल व्यावसायिक रूपमा कागतीखेतीमा लागे पनि उत्पादनले बजार नपाउँदा चिन्तित छन्।

करिब २० रोपनी जमिनमा कागतीखेती गरेका मल्लले कागती उत्पादनको उच्च सिजनमा समेत बिक्री गर्न नसकेको गुनासो गरेका छन्।“बारीसम्म गाडी पुग्ने बाटो छैन। मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत धेरै पर्छ, त्यसमा पनि उचित मूल्य पाउन गाह्रो छ,” मल्लले बताए। उनका अनुसार कागती बारीमै पाकेर कुहिने अवस्थामा पुगेको छ।

बजार अभावका कारण उनी आफैं काठमाडौँको कालीमाटी तरकारी बजार पुगेर व्यापारीलाई बिक्रीका लागि आग्रह गरिरहेका छन्। “गत वर्ष चितवन, दमौली र पोखरामा बिक्री भएको थियो, तर यस वर्ष ती बजारमा माग घटेपछि काठमाडौँ जानुपरेको हो,” मल्लले सुनाए।

उनी भन्छन्, “उत्पादन काठमाडौँसम्म पुर्‍याउँदा लागत धेरै पर्छ, तर कुहिन दिनु पनि नहुने। त्यसैले ३० केजीभन्दा बढी किन्न चाहनेले बारीमै आएर छानीछानी कागती टिप्न पाउने भनेको छु।” मल्लले स्थानीय तहको उदासीनता प्रति पनि गुनासो गरे। “गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन। स्थानीय कृषकलाई प्रोत्साहन गर्नु स्थानीय तहको पनि दायित्व हो,” उनले भने।

उत्पादन बिक्री नहुँदा निराश बनेका मल्ललाई मौसमले समेत साथ दिएको छैन। जेठ १ र २ गते आएको हावाहुरीले उनका ५० बोट कागतीमा क्षति पुर्‍याएको छ। ५०० भन्दा बढी कागतीका बोट लगाएका मल्लले सात वर्षअघिदेखि यो व्यवसायलाई अपनाएका हुन्। “प्रत्येक वर्ष प्राकृतिक प्रकोपको मार पर्ने र कतैबाट राहतसमेत नपाउने स्थिति छ,” उनले दुःखेसो गरे।

सरकार र स्थानीय तहको बेवास्ता, बजार व्यवस्थापनको अभाव र जलवायुजन्य जोखिमबीच उनीजस्ता कृषक अझ निराश हुँदै गएका छन्। कृषक मल्ल जस्ता उदाहरणले स्पष्ट गर्छ—उत्पादनले मात्र पुग्दैन, बजार व्यवस्थापन, पूर्वाधार र नीतिगत सहायताको खाँचो छ।