भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौं, १६ असाेज । आज बडादशैंको मुख्य दिन, विजया दशमी। आफ्ना मान्यजनका हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै पर्व मनाइँदैछ। दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको स्मरणमा तथा देवी दुर्गाले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा यो पर्व मनाइन्छ।

यस वर्ष टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइतमा नभ्याए पनि दशमीको दिन बिहानदेखि बेलुकीसम्म जुनसुकै समयमा टीका लगाउन सकिन्छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, विजयादशमी आफैंमा शुभ दिन भएकाले सर्वसाधारणलाई साइत खोज्नु नपर्ने भए पनि राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा छ। घटस्थापनाका दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाइन्छ।

आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा थाप्न सक्ने व्यवस्था छ। आज बिहान ८:३३ मा देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ। दशैँको टीका लगाउँदा लगाउनेले पूर्व फर्कनु, लगाइदिनेले पश्चिम फर्कनु उत्तम मानिन्छ।

त्रेतायुगमा भगवान् रामले आजकै दिन असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई विजयको प्रतीकका रूपमा मानिन्छ। यस दिन गुरु पुरोहित, बा–आमा, हजुरबा–हजुरआमा, मान्यजन र ठूलाबडाबाट टीका, जमरा र प्रसाद थापी यश, ऐश्वर्य, बल, दीर्घायु र ज्ञान प्राप्त होस् भन्ने आशीर्वाद लिइन्छ। पुरुषलाई टीका लगाउँदा द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो दीर्घायु, भगवान् रामको जस्तो शत्रु नाश, वायुको जस्तो गति, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होस् भनी मन्त्र उच्चारण गरिन्छ।

महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर “जयन्ती मङ्गला काली…” मन्त्र उच्चारण गर्दै देवीको आशीर्वाद प्रदान गरिन्छ। नेपालका धेरै भागमा कोजाग्रत पूर्णिमासम्म टीका–जमरा थाप्ने परम्परा छ भने केही स्थानमा आज मात्र देवीको प्रसादस्वरुप टीका–जमरा लगाइन्छ।

काठमाण्डौ, ६ असाेज । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने परम्परा छ।

पहिलो दिन अर्थात् आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिअनुसार शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजाआराधना सुरु हुन्छ।

आज बिहानै नित्यकर्म पूरा गरी नजिकैको नदी वा चोखो स्थानबाट ल्याइने बालुवा वा माटो गाईको गोबरले लिपपोत गरिएको स्थानमा राखी त्यसमा जौ (यव) रोपिन्छ, जसलाई जमरा राख्ने भनिन्छ। घटस्थापनाको साइत आज बिहान ९ बजेर १३ मिनेटमा रहेको ज्योतिषहरूले बताएका छन्।

दुर्गा देवीको आह्वानपछि १६ गते विजयादशमीका दिन देवीको विसर्जन गरी मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने प्रचलन छ। दशैँ प्रारम्भसँगै बजारमा किनमेल गर्ने र गाउँ फर्किनेहरूको चहलपहल पनि बढेको छ।