भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौं, २६ माघ । प्रतिनिधिसभा निर्वाचन आउन अब २४ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले बदर मत घटाउने उद्देश्यसहित व्यापक मतदाता शिक्षा अभियान सञ्चालन गरिरहेको छ।

राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र बनाइरहेका बेला आयोगको ध्यान भने आम मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने कार्यक्रमतर्फ केन्द्रित भएको छ। आयोगले मतदाता शिक्षाका लागि २५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयमार्फत कर्मचारी तथा स्वयंसेवक परिचालन गरिने आयोगले जनाएको छ। यसका लागि २३ हजार मतदान अधिकृतसहित विभिन्न कर्मचारी परिचालन गरिनेछ। साथै, महिला स्वास्थ्य स्वयंसेविकालाई समेत मतदाता शिक्षामा संलग्न गराउने तयारी गरिएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत, मत बदर हुने अवस्था तथा गलत सूचना (मिथ्या सूचना) पहिचान गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

आयोगले डिजिटल प्लेटफर्ममार्फत पनि निरन्तर सचेतनामूलक सामग्री प्रसारण गरिरहेको छ। सही र वास्तविक सूचना प्रदान गर्दै मत बदर हुने समस्या न्यूनीकरण गर्नु नै मतदाता शिक्षाको मुख्य लक्ष्य रहेको आयोगको भनाइ छ।

प्रभावकारी मतदाता शिक्षाले मतदाताको चेतनास्तर अभिवृद्धि गर्ने, मतदान प्रक्रियामा विश्वास बढाउने र स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। निर्वाचनमार्फत प्रत्यक्ष प्रणालीबाट १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना गरी कुल २७५ जना प्रतिनिधि चयन हुनेछन्।