काठमाण्डौ, ९ साउन । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच सहकारी संस्थाका ऋणीहरूलाई आगामी भदौ ३१ गतेभित्र ऋण चुक्ता गर्न ताकेता गरेको छ।
प्रदेश सरकारअन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस, र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूलाई तोकिएको म्यादभित्र ऋण तिर्न आग्रह गरेको हो।
यसअन्तर्गत सिभिल सहकारी संस्था २०८० भदौ २१ गते, दर्शन सहकारी २०८१ कात्तिक ११ गते, र नेशनल नमोबुद्ध, लालीगुराँस तथा सुमेरु सहकारीहरू २०८१ पुस २८ गते समस्याग्रस्त घोषित गरिएका थिए। समितिले ऋण नतिर्ने ऋणीहरूलाई भदौ ३१ पछि साँवा, ब्याज तथा हर्जाना समेत गणना गरी कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
सार्वजनिक सूचनामा ऋणीहरूले स्वेच्छाले समयमा ऋण चुक्ता नगरेमा ‘ऋण असुली तथा कानुनी काबारही’ प्रारम्भ गरिने स्पष्ट उल्लेख गरिएको छ।
काठमाडौं, ८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको तुलनामा दक्षिणतर्फ सरेको छ, जसका कारण अधिकांश भूभागमा बदली कम देखिएको छ।
हाल कोशी, बागमती र गण्डकीलगायतका पहाडी प्रदेशहरूमा सामान्य बदली छ भने अन्यत्र आंशिक बदली रहेको जनाइएको छ। बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागहरूमा र देशका अन्य केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावित रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ।
कोशी, मधेस र बागमती प्रदेशमा केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा (कोशी, मधेस, बागमती र गण्डकी प्रदेश) बाढी, पहिरो र यातायात अवरोधको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
काठमाण्डौ, ७ साउन । पाँचथर भएर बग्ने तमोर नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दा नदीको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नदी किनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपील गरिएको छ। हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ।
विशेषतः कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको जनाइएको छ। आज बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
गएराति सङ्खुवासभा र ताप्लेजुङमा भारी वर्षा भएको छ भने सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सोलुखुम्बु, धनकुटा, उदयपुर, खोटाङ, सप्तरी, बैतडी र बाग्लुङमा मध्यम वर्षा मापन गरिएको छ।
आज राति पनि देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोले बाढी, पहिरो तथा नदी कटानको जोखिममा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
काठमाडौँ, ६ साउन । चालु वर्षको धान रोपाइँ सिजनमा देशभर हालसम्म करिब ७२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार करिब १० लाख हेक्टर जमिनमा रोपाइँ भइसकेको छ।
मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ। गत वर्ष यही अवधिसम्म करिब ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष भने १२ प्रतिशत कम भएको छ।
प्रदेशगत विवरण अनुसार, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ (१ लाख ७१ हजार हेक्टर)। कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत, बागमती प्रदेशमा ८७ प्रतिशत (१ लाख ५ हजार हेक्टर) रोपाइँ सम्पन्न भएको छ।
सूचना अधिकारी महानन्द जोशीका अनुसार मौसमको प्रतिकूलता, अनावृष्टि, दैवी प्रकोप आदिले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुन पुगेको हो। यद्यपि, मौसम सामान्य रहेमा साउनको अन्तिमसम्म ९८ प्रतिशत रोपाइँ पुग्ने अनुमान गरिएको छ।
धान उत्पादनमा तराई क्षेत्र अग्रणी मानिन्छ, जहाँ ७० प्रतिशत उत्पादन हुने गर्दछ, भने ३० प्रतिशत पहाडी क्षेत्रमा। गत आर्थिक वर्ष २०८०/८१ मा कुल ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो। पछिल्लो समय उन्नत जातका बिउबिजन, प्रविधि र सीपका कारण उत्पादन वृद्धिको अपेक्षा गरिएको छ।
काठमाडौँ, ५ साउन । सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागहरूमा रातिदेखि नै वर्षा भइरहेको छ। कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा बिहानपख भारी वर्षा भए पनि अहिले केही कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा जारी छ। दिउँसोतिर देशको पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशका केही ठाउँहरूमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने सम्भावना छ।
साथै महाशाखाले भूस्खलन तथा बाढीको जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
मुख्य बुँदा :
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।
दिउँसो र राति मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान।
लुम्बिनी र सुदूरपश्चिम तराई क्षेत्रमा हावाहुरीको सम्भावना।
विपद् जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागको आग्रह।
काठमाडौं, २ साउन । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा दिउँसो र राति मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुने प्रबल सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाको भनाइ छ। यस्तो अवस्थामा बाढी, पहिरो र अन्य विपद्को सम्भावना रहने भएकाले सम्बन्धित निकायहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।
मौसमविद्हरूले मनसुन सक्रिय रहँदा भारी वर्षा र हावाहुरीले जनजीवन प्रभावित हुन सक्ने जनाएका छन्। नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा नजान समेत आग्रह गरिएको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अनुगमन ।
मन्त्री थापामगरले अस्पतालको पूर्वाधार, सेवा तथा व्यवस्थापनको स्थलगत अवलोकन गरी सेवाग्राहीसँग प्रत्यक्ष संवाद ।
उनले ख्वप अस्पताललाई देशकै नमुना अस्पतालको रूपमा प्रशंसा गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्न तत्पर रहने ।
अस्पताल १०० शैय्या क्षमताको छ र वर्षभर ११ घण्टा ओपीडी सेवा प्रदान गर्दै आएको छ।
निकट भविष्यमा सिटी स्क्यान सेवा सुरु गर्न लागिएको जानकारी दिइयो।
स्वास्थ्य बीमा भुक्तानी ढिलाइ हुँदा अस्पताल सञ्चालनमा समस्या भएको जनाइएको छ।
अस्पतालसँगै नगरपालिकाले जनस्वास्थ्य, सहरी स्वास्थ्य केन्द्र, पुनःस्थापना केन्द्रमार्फत सेवा दिइरहेको छ।
शिक्षा र स्वास्थ्यमा भक्तपुर नगरपालिकाको योगदान अन्य स्थानीय तहका लागि अनुकरणीय रहेको मन्त्री थापामगरको भनाइ।
भक्तपुर, ३२ असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालनमा रहेको ख्वप अस्पतालको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा मन्त्री थापामगरलाई नगर प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो।
मन्त्री थापामगरले अस्पतालका विभिन्न सेवा कक्ष, अक्सिजन प्लान्ट, आकस्मिक सेवा, औषधालय, ल्याब, छात्ती पुनःस्थापना केन्द्र, नर्सिङ कलेज, आँखा अस्पताल र ब्रम्हायणीस्थित अन्तरंग सेवाहरूको स्थलगत निरीक्षण गर्नुभयो। सेवा प्रवाहको जानकारी लिँदै उहाँले बिरामीहरूसँग पनि संवाद गर्नुभयो।
कार्यक्रममा बोल्दै मन्त्री थापामगरले भक्तपुर नगरपालिकालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशको नमुना नगरपालिका रहेको उल्लेख गर्दै ख्वप अस्पतालको गुणस्तरीय सेवा र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकार अस्पतालको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको समेत बताउनुभयाे ।
अनुगमनमा प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले बागमती प्रदेशअन्तर्गत स्थानीय तहले सञ्चालन गरेको नमुना अस्पतालको रुपमा रहेको ख्वप अस्पताल अनुगमन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई निःशुल्कसँगै नागरिकको सहज पहुँच र गुणस्तरीय बनाउँदै लानुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम अन्य स्थानीय तहहरूको लागि अनुकरणीय भएको बताउनुभयो ।
सरकारी सेवा सुविधालाई स्तरीय बनाउने नीतिमा प्रदेश सरकारले जोड दिँदै आएको बताउँदै प्रदेश मातहतका अस्पतालहरूमा विशिष्टिकृत सेवा प्रदान गर्दै लाने बताउनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीको लागि कम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ख्वप अस्पताल निरन्तर विस्तार र सुधार गरिरहेको र यसलाई देशकै उत्कृष्ट अस्पताल बनाउने लक्ष्य रहेको बताउनुभयाे ।
ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आइरहेको अवगत गराउँदै भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सँगै श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
अस्पतालले छिटै सिटी स्क्यान सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउँदै प्रमुख प्रजापतिले नेपाल सरकारले स्वास्थ्य बीमा उपचारबापतको रकम समयमै भुक्तानी नदिँदा अस्पताल सञ्चालनलगायतका गतिविधिमा समस्या भएको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले अस्पतालको सेवा विस्तार, उपलब्ध सुविधा र भावी योजनाबारे प्रस्तुति दिनुभयो। उहाँका अनुसार अस्पतालले ३६५ दिन ११ घण्टा ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। सिटी स्क्यान सेवा सुरु गर्न तयारी भइरहेको जानकारी दिइयो।
कार्यक्रममा प्रदेशका वरिष्ठ स्वास्थ्य अधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले भक्तपुरको नमुना सेवा प्रणाली अन्य स्थानीय तहहरूले पनि अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
काठमाडौं, ३१ असार । देशका धेरै स्थानमा रातभर लगातार वर्षा भए पनि हाल अधिकांश क्षेत्रमा वर्षा रोकिएको छ भने केही ठाउँमा हल्का पानी परिरहेको छ। तर आज दिउँसो र राति पनि अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यसैगरी रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको छ। यसकारण तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन, आवश्यकता अनुसार सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
वर्षा हुने सम्भावना भएका क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको जोखिम पनि हुने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूको सुझाव छ।