काठमाडौँ, १२ भाद्र । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहानैदेखि कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ।
यस्तै, राति देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र कोशी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले वर्षाका कारण भौतिक संरचना, कृषि, यातायात र जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।
काठमाण्डौ, ८ भाद्र । बागमती र कर्णाली प्रदेशका पहाडी एक/दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको निरन्तर प्रभाव रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको हो ।
आज बागमती र कर्णालीसँगै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा र अन्य प्रदेशका तराइका केही भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, बागमती र कर्णालीका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने चेतावनी दिइएको छ ।
महाशाखाले कतिपय स्थानमा हावाहुरी समेत आउन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । गएराति रुकुम र जाजरकोटमा सबैभन्दा धेरै ५४.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
काठमाडौँ, ६ भदौ । आज देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा तथा तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षा हुने देखिएको छ।
यस्तै, राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गएराति पनि गण्डकी पश्चिमका केही ठाउँमा ठूलो वर्षा भएको थियो।
कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके र रोल्पामा १२ घण्टामै १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण ती जिल्लाका खोलानदीमा बाढी आएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा अवस्थित छ।
काठमाडौँ, ३ भाद्र । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली र मधेश प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड र तराईका केही तथा मधेश प्रदेशको तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
काठमाडौँ, ५ साउन । सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागहरूमा रातिदेखि नै वर्षा भइरहेको छ। कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा बिहानपख भारी वर्षा भए पनि अहिले केही कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा जारी छ। दिउँसोतिर देशको पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशका केही ठाउँहरूमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने सम्भावना छ।
साथै महाशाखाले भूस्खलन तथा बाढीको जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौँ, २८ असार । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग हाल ७३ जिल्लामा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरि १ हजार ९ सयभन्दा बढीमा डेङ्गी सङ्क्रमण देखिएको छ।
प्रदेश अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा ४६४, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिममा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेङ्गी देखिएको छ।
डाक्टरहरूले डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्नेमा जोड दिएका छन्। बच्ने मुख्य उपायहरूमा समावेश छन्:
घर वरिपरि पानी जम्न नदिनु, झार, फूलदानी, टायरजस्ता ठाउँहरू सफा राख्नु।
झ्यालढोकामा लामखुट्टे प्रवेश रोक्ने जाली लगाउनु।
सुत्दा झुलो प्रयोग गर्नु।
लामो लुगा लगाएर शरीर छोप्नु।
मच्छर मार्ने औषधि प्रयोग गर्नु।
समुदायमा सफाइ अभियान चलाएर लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु।
डाक्टरहरूले भनेका छन् कि डेङ्गीको लक्षण देखिएमा तुरुन्त नजिकको अस्पताल पुग्नुपर्छ र घरेलु उपायमा निर्भर नहुन सुझाव दिएका छन्। यसैबीच, स्वास्थ्य महाशाखाले जनता र समुदायलाई सचेत रहन र सफाइमा ध्यान दिन विशेष आग्रह गरेको छ ।
काठमाडौँ, २८ असार । काठमाडौँ उपत्यका र देशका धेरै भागहरूमा आज बिहानदेखि घाम लागेको छ भने राति सामान्य वर्षा मात्रै भएको छ।
हाल पाल्पा र बाँके जिल्लामा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ कि आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही एक/दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना छ।
त्यस्तै, राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ। विशेष गरी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरू तथा देशका केही अन्य भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं, ३ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम खराब रहेको छ। हावाहुरी, चट्याङ र वर्षाका कारण मौसम प्रतिकूल बनेको छ। आज पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्य रूपमा सफा देखि आंशिक बदलीको अवस्था रहनेछ। यी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
मौसम खराब रहने भएकाले सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन मौसम विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।