मधुवा रोगका कारण आँप उत्पादन घट्ने जोखिम
मधेशमा ३०,८०० हेक्टर क्षेत्रफलमा आँपखेती
उत्पादन ६०% बढ्ने अनुमान भए पनि रोगले असर
धनुषा, महोत्तरी, सिरहा र सप्तरी मुख्य उत्पादन क्षेत्र
भारतबाट ३५९ मेट्रिक टन आँप आयात भएको तथ्याङ्क
जनकपुरधाम, २६ चैत्र । मधेश प्रदेश कृषि विकास निर्देशनालय ले आँपका रुखमा मधुवा रोग फैलिएकाले यस वर्ष आँप उत्पादनमा ह्रास आउन सक्ने अनुमान गरेको छ। समयमा वर्षा नभएको र हावाहुरीका कारण पनि उत्पादन प्रभावित हुन सक्ने निर्देशनालयले जनाएको छ।
यस वर्ष मधेश प्रदेशका आँपका रुखमा मजर अर्थात् फूल अत्यधिक लागेको भए पनि मधुवा रोगका कारण उत्पादनमा समस्या देखिएको हो। निर्देशनालयका अधिकृत सन्दीप ठाकुर का अनुसार प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो। तर रोगका कारण अनुमानअनुसार उत्पादन नहुने अवस्था सिर्जना भएको छ।
निर्देशनालयका अनुसार यस वर्ष मधेश प्रदेशका किसानहरूले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका छन्। मौसम अनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
मधेश प्रदेशका धनुषा जिल्ला, महोत्तरी जिल्ला, सिरहा जिल्ला र सप्तरी जिल्ला आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन्। यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।
गत आर्थिक वर्षमा मधेश प्रदेशका किसानहरूले ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका थिए, जसबाट तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो। प्रदेशमा विशेषगरी मालदह, बम्बै, कलकत्तिया, आम्रपाली, दशहरी, नकुअवा, केरवा, विजु र सिपिया जातका आँप खेती हुँदै आएको छ।
यसैबीच प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोड का प्रमुख किशोरकुमार यादव का अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारत बाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिक टन आँप नेपाल भित्रिएको थियो, जसको मूल्य करिब दुई करोड १५ लाख रुपैयाँ बराबर रहेको छ। हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय को तथ्याङ्कमा उल्लेख छ।
बाँसखर्कका किसान सुन्तलाबाट राम्रो आम्दानी गर्दै
माघमा सुन्तला टिप्दा प्रतिकिलो १६० रुपैयाँ मूल्य
२ सय घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा संलग्न
१ हजार ५ सय रोपनीमा सुन्तलाखेती
यस वर्ष २० करोड मूल्यबराबर उत्पादन अनुमान
पर्वतबाट अहिलेसम्म ३२ करोडको सुन्तला निर्यात
पर्वत, माघ १६ । बाँसखर्कका किसान सुन्तलाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । अरू क्षेत्रमा निख्रिएपछि सुन्तला टिप्न थालेका जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका हुन् ।
अरू क्षेत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका थिए । अहिले प्रतिकिलो एक सय ६० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताउनुभयो ।
पोखरा, काठमाण्डौ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न पुगेका छन् । बाँसखर्कका २ सय ३९ मध्ये २ सय घरपरिवारले सुन्तलाखेती गरेका छन् । एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँ बराबरको सुन्तला बेच्छन् ।
बाँसखर्कको १ हजार ५ सय रोपनी जग्गामा सुन्तलाखेती भएको छ । त्यहाँ यसवर्ष २० करोड मूल्यबराबरको सुन्तला उत्पादन हुने अनुमान छ । क्षेत्रफल विस्तार, फल लाग्ने नयाँ बिरुवा थपिएको, बगैँचा व्यवस्थापन, अनुकूल मौसम, दाना झर्ने समस्या कम भएको र दाना धेरै लागेकाले यसवर्ष उत्पादन बढेको छ ।
बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । पहिले बाँसको जङ्गल भएको हुँदा बाँसखर्क नाम रहेको तर त्यहिँ पाखो अहिले सुन्तलाखर्कमा परिणत भएको किसानले बताएका छन् ।
बाँसखर्कबाट २० करोड रुपैयाँसहित पर्वतका विभिन्न गाउँबाट अहिलेसम्म ३२ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको कृषि विकास कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले जानकारी दिनुभयो । रासस
बागलुङ, ६ पुस । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।
बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०–५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए ।
व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उनको भनाइ छ । किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउछन् ।
आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उनले बताए । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउछन् ।
उनले भने, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०-५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।”
अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताए । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उनको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उनी बताउछन् ।
कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१।६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ । रासस
सुन्तला टिप्ने कामका लागि धादिङ र गोरखाबाट युवा म्याग्दी आएका
पढाइ र घरखर्च चलाउन मौसमी रोजगारी
मङ्सिरदेखि माघसम्म सुन्तला, भदौ–कात्तिकमा मुस्ताङमा स्याउ टिप्ने
जिल्लाभर २०० भन्दा बढीले पाए रोजगारी
दैनिक ७००–८०० रुपैयाँसम्म ज्याला
गत वर्ष ३३ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री
८१० हेक्टर क्षेत्रमा सुन्तलाखेती
म्याग्दी, २ पुष। सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरु पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरु भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् ।
झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका धादिङको रुबीभ्याली गाउँपालिका–५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामबाट मौसमी रोजगारी मिलेको बताए। “पढाइ र घरखर्च चलाउने पैसा जुटाउनका लागि सुन्तला टिप्न आएको हो”, उनले भने, “तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइलाई निरन्तरता दिने हो ।”
यहाँका बगैँचामा सुन्तला टिप्न आउनेमा अधिकांश धादिङ र गोरखाका मजदुर छन् । जिल्लाभर २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगार पाएका बताइएको छ । यहाँका बगैँचामा फलेका सुन्तला टिप्ने र बजार पठाउन हिजोआज किसान तथा मजदुरलाई भ्याइनभ्याइ छ । सुन्तला टिप्ने काम गर्ने उनीहरुले खाना खाएर मासिक रु १५ देखि २० हजार तथा दैनिक रु ७०० देखि ८०० ज्याला पाउने गरेका छन् ।
बोटमा सुन्तला टिप्ने, ग्रेडिङ, गाडीमा लोड र अनलोड गर्न मजदुरको आवश्यकता पर्छ । सुन्तलाखेती गरेका किसानका साथै स्थानीय र अन्य जिल्लाका मजदुरहरुलाई रोजगारी मिलेको बेनी–३ राखुका भवीकला रानाले बताए ।
गत वर्ष म्याग्दीबाट रु ३३ करोड मूल्य बराबरको चार हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षको मात्रामा सुन्तला उत्पादन हुने अनुमान गरिएको बताए ।
राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । रासस