रौतहट, २९ फागुन । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका हुन् ।
एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गरे । बङ्गुरको उपचारका लागि पशु चिकित्सकहरुलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बङ्गुर मरेको उनले बताए ।
डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको छ । रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उनले बताए ।
रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताए । चन्द्रपुरका किसानले छ हजारको हाराहारीमा बङ्गुर पालेका छन् । रासस
सुनसरी, ६ जेठ । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए ।
बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ । बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताए । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो । रासस