भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौँ, ४ वैशाख । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । ट्रम्पको विश्वव्यापी व्यापार युद्धका कारण विभिन्न उद्योगहरू प्रभावित भइरहेका छन् । बुधबार शिकागोमा दिएको सम्बोधनमा पावेलले ट्रम्प प्रशासनको भन्सार वृद्धि अपेक्षाभन्दा धेरै भएको र यसको अनिश्चितताले दीर्घकालीन आर्थिक क्षति पुर्‍याउन सक्ने बताए ।

“यी नीतिगत परिवर्तनहरू आधारभूत छन्… यस्तो अवस्थालाई कसरी बुझ्ने भन्ने आधुनिक अनुभव छैन,” पावेलले भने। फेडको मुख्य जिम्मेवारी पूर्ण रोजगारी प्रवर्द्धन र मुद्रास्फीति नियन्त्रण हो, तर पावेलले ट्रम्पको भन्सार नीतिले यी दुवै लक्ष्यलाई खतरामा पार्ने चेतावनी दिए । हाल अमेरिकी अर्थतन्त्र सामान्य अवस्थामा छ,  तर पावेलले अर्थतन्त्र सुस्त हुँदै गएको र भन्सारका कारण मुद्रास्फीति बढ्ने सम्भावना रहेको उल्लेख गरे । “भन्सारको लागत अन्ततः जनताले नै तिर्नुपर्ने हुन्छ,” उनले भने ।

पावेलले बजारमा उच्च अनिश्चितताका कारण अस्थिरता बढेको पनि बताए। वाल स्ट्रिटमा यो प्रभाव स्पष्ट देखियो, जहाँ नास्डाक ४ प्रतिशतभन्दा बढी, एसएन्डपी ३ प्रतिशतभन्दा बढी र डाउ जोन्स २ प्रतिशतभन्दा बढीले घट्यो । ट्रम्पको चीनसँगको व्यापार विवादका कारण नयाँ निर्यात प्रतिबन्धले सेमिकन्डक्टर कम्पनी एनभिडियाको शेयर १० प्रतिशतभन्दा बढीले घट्यो । 

यसैबीच, राष्ट्रपति ट्रम्प भने आशावादी देखिए । उनले सामाजिक सञ्जालमा जापानसँग व्यापार सम्झौतामा “ठूलो प्रगति” भएको उल्लेख गरे । ट्रम्पको रणनीति भन्सारमार्फत विभिन्न देशहरूसँग छुट्टाछुट्टै सम्झौता गरेर अमेरिकी उत्पादनका लागि बजार खोल्ने र विश्वव्यापी उत्पादन अमेरिकातर्फ आकर्षित गर्ने हो। तर, यो रणनीति चीनसँगको बढ्दो तनावसँगै जोडिएको छ, जसले व्यापक आर्थिक अवरोधको चिन्ता बढाएको छ।

विश्वका अन्य देशमा १० प्रतिशत भन्सार लगाइएको बेला चीनले भने १४५ प्रतिशतसम्म भन्सारको सामना गर्नुपरेको छ । यसकाे जवाफमा, चीनले अमेरिकी सामानमा १२५ प्रतिशत भन्सार लगाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यदि अमेरिकाले वार्ता र सम्झौतामार्फत समाधान चाहन्छ भने, चरम दबाब, धम्की र ब्ल्याकमेल बन्द गरेर समानता, सम्मान र पारस्परिक लाभका आधारमा कुरा गर्नुपर्छ ।”

“भन्सार युद्ध वा व्यापार युद्धमा कोही विजेता हुँदैन,” लिनले थपे। “चीन युद्ध चाहँदैन, तर लड्न डराउँदैन।” चीनले बुधबार आफ्नो पहिलो त्रैमासिक आर्थिक वृद्धि ५.४ प्रतिशत भएको जनाएको छ, जुन अमेरिकी भन्सार लागू हुनुअघि निर्यातकर्ताहरूले सामान बाहिर पठाउन हतारिएका कारण अपेक्षाभन्दा राम्रो हो।