काभ्रेमा बर्डफ्लुका कारण ४० हजार ७२९ हाँस तथा कुखुरा नष्ट।
बनेपा र पनौतीका विभिन्न पोल्ट्री फार्ममा सङ्क्रमण पुष्टि।
बायोसेक्युरिटी अभाव र जथाभावी मृत पक्षी फाल्दा सङ्क्रमण फैलिएको प्रारम्भिक निष्कर्ष।
ओसारपसार नियन्त्रण र निगरानी थप कडा बनाइयो।
काभ्रेपलाञ्चोक, १६ असार । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।
केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।
बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको ठाकुरले बताए ।विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइन्छ ।
ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रुपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे ।
जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रुपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइने निर्णय गरिएको थियो ।
देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो । रासस
काभ्रेपलाञ्चोक, १३ चैत्र । काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार दिउँसो बनेपा नगरपालिका–८ जनागल क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा यात्रुवाहक बस तथा पानी ट्याङ्करका चालकहरू नशाको अवस्थामा भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकको सहयोगमा ड्रग्स किटमार्फत परीक्षण गरेको थियो।
प्रहरीले शंकास्पद ३९ सवारी चालकलाई जाँच गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको छ। पक्राउ पर्नेमा महानगर बसका २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्।
उनीहरूले सार्वजनिक सडकमा सयौँ यात्रुको ज्यान जोखिममा राख्दै नशाको अवस्थामा सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार गोप्य सूचनाका आधारमा यो अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।