भर्खरै : Sorry, your browser does not support inline SVG.

कपिलवस्तु, १६ असार । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल तौलिहवामा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसमा चालकसहित ४६ जना सवार थिए। दुर्घटनापछि सकुशल रहेका २४ जना यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ।

दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकखण्डमा दुवैतर्फको सवारी आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

काठमाण्डौ, २९ वैशाख । गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा तीन वटा गाडी आपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।

गएराति रोकिराखेको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाण्डौबाट बाग्लुङतर्फ जाँदै गरेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

त्यसको केहीबेरमै काठमाण्डौबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०१–००६ ख ६७१६ नम्बरको अर्को बसले अगाडिको बसलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गजुरी ले जनाएको छ ।

घाइतेमध्ये ३४ जनाको काठमाडौं ट्रमा सेन्टर, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचारपछि तीन जना डिस्चार्ज भएका छन् । दुर्घटनामा संलग्न तीनवटै गाडीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

काठमाडौँ, १४ चैत्र । नवलपरासीको बर्दघाट नगरपालिका–४ घिउखोलामा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

आज बिहान ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बस दुर्घटनामा परेका हुन्। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये तीन जनालाई जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपरासी पश्चिमका डीएसपी विरदत्त पन्तका अनुसार ज्यान गुमाउनेमध्ये रोल्पाको बागमाराका गोबिन बुढाको मात्रै पहिचान खुलेको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ। मृतकहरूको शव परासी अस्पतालमा राखिएको छ।

घाइते १५ जनामध्ये १३ जनाको लुम्बिनी सिटी अस्पताल बुटवल र दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं, २७ माघ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परी हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता डिएसपी राजनप्रसाद तिम्सिनाका अनुसार दुर्घटनापछि ५ जनालाई सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । बस तामाकोशी नदीमा पूर्ण रूपमा खसेको र हाल नदीमा तैरिरहेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोरको टोली परिचालन गरी बाँकी यात्रुको खोज तथा उद्धार कार्य तीव्र बनाइएको छ ।

प्रारम्भिक अनुमानअनुसार दुर्घटनामा ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तनहुँ, २८ पुष । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको सोमबार पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन सुरु गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ ।

घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताउनुभयो । हाल पुरिएको बस उत्खनन गर्ने कार्य र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

दाङ, २७ पुष । दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावतगाउँ चोकमा यात्रुवाहक बस दुर्घटना भएको हो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर बसमा सवार आठ जना यात्रु घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेसहित सबै आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।

प्रहरी निरीक्षक बमका अनुसार बस आज दिउँसो करिब १२ः३० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ, लमही । दाङको लमहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियास्थित पुलबाट डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे खोलामा खसेको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये दुईजनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको र उनीहरूलाई थप उपचारका लागि बाहिर रिफर गर्ने तयारी भइरहेको छ।

बसमा ३८ जना सवार रहेको खुलेको छ। प्रारम्भिक बयानअनुसार बस चालकले पट्टा (शक) भाँचिएर दुर्घटना भएको बताएका छन्। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ, २३ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा गएराति भएको सडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।

मृतक रूपन्देही देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहरा रहेको मकवानपुर प्रहरीले जनाएको छ। जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले उनलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका बोहरालाई प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर लगेको थियो। तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी, मकवानपुर प्रहरी प्रवक्ता,ले जानकारी दिए।

दुर्घटनामा संलग्न बस चालक महोत्तरी रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।