भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मुख्य बुँदा 

बाँकेमा बसन्ते मकै नगदे बालीका रूपमा लोकप्रिय बन्दै गएको छ।

हाल जिल्लामा ५६ हेक्टरभन्दा बढी क्षेत्रफलमा बसन्ते मकैखेती भइरहेको छ।

किसानलाई बीउ, प्राविधिक सहयोग र तालिम उपलब्ध गराइएको छ।

कम लगानी र राम्रो आम्दानी हुने भएकाले किसानको आकर्षण बढ्दै गएको छ।

बाँके , ३ बैशाख । नगदे बालीको रूपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार जिल्लामा अहिले ५६ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा बसन्ते मकैखेती भइरहेको छ । राप्तीसोनारी गाउँपालिकामा साकार कृषि सहकारी संस्थामार्फत ४६ हेक्टर र खजुरामा खजुरा लिफ्ट सिँचाइ जल उपभोक्ता समूहमार्फत १० हेक्टरमा व्यावसायिक रूपमा बसन्ते मकैखेती भइरहेको छ । डुडुवा र नेपालगञ्जका किसानले पनि खेती सुरु गरेका छन् ।

“बसन्ते मकै उत्पादन हुनासाथ दाना उद्योगले खेतबाटै उठाउने भएकाले बिक्रीमा समस्या छैन, किसानले नगदे बालीका रूपमा यसलाई उपयोग गर्न थालेका छन्,” सूचना अधिकारी पाठकले भने, “कृषि ज्ञान केन्द्रले सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत बसन्ते मकैखेती गर्ने किसानलाई बीउ र प्राविधिक सहयोग गरिरहेको छ, यसमा किसानको आकर्षण बढ्दै गएको छ ।”

कृषि ज्ञान केन्द्रले बसन्ते मकैखेती गर्ने किसानलाई मकै छोडाउने यन्त्र, फौजी किरा नष्ट गर्न सुरक्षित विषादी प्रयोगलगायतका तालिम दिँदै आएको पाठकले बताए । किसानले उत्पादन क्षमता बढी भएको भारतीय बीउ प्रयोग गर्दै आएका छन् ।

कम मेहनत र लगानीबाट राम्रो मुनाफा हुने भएकाले यसतर्फ धेरै किसान आकर्षित भएको राप्तीसोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताए ।

“मकैखेती वर्षमा तीन पटकसम्म गर्न सकिने भएकाले अन्य बालीभन्दा बढी आयआर्जन गर्न सकिन्छ । यसमा पानी कम लाग्छ, रोग–कीरा कम लाग्छ र दैनिक धेरै मिहिनेत पनि आवश्यक पर्दैन,” वलीले भने, “मकैको डाँठ पशु चौपायाका लागि घाँसमा खपत हुने भएकाले दोहोरो रूपमा उपयोग गर्न सकिन्छ, कम जोखिम, राम्रो आम्दानी र दिगो सम्भावनाले मकैखेती बाँकेका किसानहरूको रोजाइ बन्दै गएको छ ।”

किसानको सहजताका लागि सहकारीले बसन्ते मकैखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रको सहयोग तथा समन्वयमा बीउ, यन्त्र, प्राविधिक सहयोग तथा बजारीकरणका लागि काम गरिरहेको वलीले बताए । रासस