लमजुङका धेरै ग्रामीण बस्ती बसाइँसराइका कारण रित्तिँदै गएका छन्।
६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये १६ हजार ६२ हेक्टर जमिन बाँझो रहेको तथ्यांक।
युवा पलायनले कृषि, स्थानीय संस्कृति र परम्परागत ज्ञान संरक्षणमा चुनौती थपिएको छ।
स्थानीय तहले कृषि आधुनिकीकरण, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनमार्फत गाउँ जोगाउने प्रयास गरिरहेका छन्।
लमजुङ, ३२ असार । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ ।
चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य लाग्छन् । केही वर्ष अघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् ।
यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा परेको छ । दोर्दी गाउँपालिका–३ श्रीभञ्ज्याङको पुरानो नेवार बस्ती रत्तिँदै गएको छ । केही दशक अघिसम्म बाक्लो बस्ती रहेको यो ठाउँ अहिले पातलिएको छ । धेरै घर खाली छन् भने केही घर जीर्ण अवस्थामा छन् ।
पचासी वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो । चाडपर्व, मेलापात र सामाजिक काममा सबै गाउँले सहभागी हुन्थे । अहिले धेरै मानिस गाउँ छाडेर गएपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण नरहेको उहाँ बताउनुहुन्छ ।
राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ । स्थानीय लालमाया श्रेष्ठका अनुसार पहिले सुविधा नभए पनि गाउँमा मानिस धेरै थिए । अहिले सुविधा थपिए पनि गाउँमा बस्ने मानिस घटेका छन् । गाउँ खाली हुँदै जाँदा यसको असर कृषि क्षेत्रमा पनि परेको छ ।
कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा पुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ । खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था आएको छ । उहाँका अनुसार पुस्तौँदेखि चलिआएका खेती गर्ने सीप, रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन भएको छ ।
कृषि विकास कार्यालयका अनुसार लमजुङमा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ । १६ हजार ६२ हेक्टर जमिन बाँझो छ । सुन्दर बजार नगरपालिका–६ को पुरानो दिही गाउँ पनि बसाइसराइको प्रभावमा परेको छ । स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ ।
गाउँमा मानिसको सङ्ख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिमा असर परेको छ । जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालले गाउँ खाली हुनु सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती भएको बताउनुभयो ।
उहाँका अनुसार युवा पुस्ता गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान नयाँ पुस्तासम्म पुर्याउन कठिन भएको छ । दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङका अनुसार गाउँमा मानिस टिकाइराख्न आयआर्जनको आधार बलियो बनाउन आवश्यक छ । त्यसका लागि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले घरबास सञ्चालन, कृषि प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको छ । कफी, खुर्सानीलगायत उत्पादनबाट किसानलाई आम्दानीसँग जोड्ने प्रयास गरिएको छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको समस्या नभई कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय हो । गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ ।
दोर्दी क्षेत्रमा रहेका इलाम पोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । राष्ट्रिय जनगणना २०७८ ले पनि देशभर आन्तरिक बसाइसराइको प्रवृत्ति बढ्दै गएको देखाएको छ । यसको प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा देखिएको छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको कथा मात्रै होइन, यो त देशका अनेकन बस्तीका उस्तै उस्तै अवस्थाको फेहरिस्त पनि हो ।
खाली घरमा फेरि धुवाँ उड्ने, बाँझो जमिनमा फेरि उत्पादन हुने र गाउँको मौलिकता जोगिने अवस्था सिर्जना गर्नु नै अबको मुख्य चुनौती बनेको छ । त्यसका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादन बढाउनु र गाउँमा रोजगारीको अवसर बढाउनु जरुरी भइसकेको छ । अन्यथा, गाउँहरू एकादेशको कथा बन्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । रासस
बसाइँसराइले गाउँ रित्तिँदै गए पनि लोकनाथ कँडेलले सुन्तलाका कारण गाउँसँग नाता तोडेका छैनन्
किमबोट गाउँमा ३२० बोट सुन्तला, २५० बोटले नियमित उत्पादन दिँदै
२०४७ सालमा ३५ हजार रुपैयाँ लगानीबाट सुरु गरिएको सुन्तलाखेती अहिले आम्दानीको मुख्य आधार
पहिले कोदो र मकै फल्ने बारी अहिले सुन्तलाले ढपक्क
सुन्तलाखेतीबाट जीवनस्तरमा ठूलो परिवर्तन, छोराछोरीको विदेश अध्ययन सम्भव
सडक नहुँदा डोकोमा बोकेर सुन्तला बजार पुर्याएको अनुभव
बसाइँ सरेका अन्य किसानले पनि सुन्तलाको कारण जग्गा नबेचेको उदाहरण
१४ रोपनी क्षेत्रफलमा तीन दशकभन्दा बढी समयदेखि व्यावसायिक खेती
बागलुङ, ७ पुष । पछिल्ला वर्षहरूमा बसाइँसराइका कारण गाउँहरू रित्तिँदै गएका छन्। गाउँमा रहेका धेरैजसो परिवार सुविधा र रोजगारीको खोजीमा शहर वा तराई झरिरहेका छन्।
तर, बागलुङको किमबोट गाउँका लोकनाथ कँडेल भने बसाइँ सरे पनि गाउँसँगको नाता तोडेका छैनन्। यसको मुख्य कारण बनेको छ—सुन्तलाखेती।
सुविधाको खोजीमा १३ वर्षअघि बागलुङ बजार झरेका कँडेल अहिले पनि प्रायः गाउँमै भेटिन्छन्। गाउँमा रहेको आफ्नो सुन्तलाबारीको स्याहारसुसारका लागि उनी हरेक हप्ता किमबोट पुग्ने गर्छन्।
किमबोट गाउँमा उनका ३२० बोट सुन्तला छन्, जसमध्ये २५० बोटले नियमित रूपमा फल दिइरहेका छन्। कँडेलले साढे तीन दशकभन्दा अगाडिदेखि सुन्तलाखेती गर्दै आएका छन्।
विसं २०४७ सालमा ३५ हजार रुपैयाँ लगानी गरेर सुरु गरेको सुन्तलाखेती आज उनको मुख्य आम्दानीको स्रोत बनेको छ। त्यतिबेला बागलुङ जिल्लामा सडक सञ्जालसमेत विस्तार भएको थिएन।
स्थानीय किसान कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुरु गरेको सुन्तलाखेतीबाट प्रेरित भएर लोकनाथ कँडेलले पनि यो खेती थालेका हुन्। हाल ६० वर्ष उमेर पुगेका कँडेल १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन्।
गाउँप्रतिको माया र सुन्तलाखेतीप्रतिको मोहकै कारण बागलुङ छोडेर टाढा बसाइँ सर्न नसकेको उनी बताउँछन्। वरपरका छिमेकी धमाधम गाउँ छोडेपछि परिवारसहित बागलुङ बजार झरे पनि आफ्नो सम्पूर्ण जग्गा जमिन र घर भने गाउँमै छाडेको उनले बताए।
“बिरामी पर्दा उपचार सहज होस् भनेर मात्रै बजार झरेको हुँ,” कँडेल भन्छन्, “सम्पत्ति सबै गाउँमै छ। अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसान म नै हुँ जस्तो लाग्छ।”
उनका अनुसार पहिले कोदो र मकै फल्ने बारीले वर्षभर खानसमेत पुग्दैनथ्यो। तर अहिले त्यही बारीमा लटरम्म सुन्तला फलेका छन्। “मकै र कोदोले जीवन धान्न गाह्रो थियो, सुन्तलाले जीवनस्तर नै परिवर्तन गरिदियो,” उनले सुनाए।
सुन्तलाखेतीबाट भएको आम्दानीले छोराछोरीको शिक्षा सम्भव भएको कँडेल बताउँछन्। हाल उनका छोराहरू जापान, अमेरिका र पोर्चुगलमा छन्। सुन्तलाखेती थालेपछि कुनै पनि जग्गा बाँझो नराखेको उनको भनाइ छ।
सडक नहुँदाको समयमा डोकोमा बोकेर सुन्तला बागलुङ बजार पुर्याएर बिक्री गरेको स्मरण गर्दै उनले अहिले त्यो कठिनाइ नरहेको बताए। बसाइँसराइ गरेर तराई झरेका धेरैले पनि सुन्तलाको मोहका कारण आफ्नो जग्गा जमिन नबेचेको उनी बताउँछन्।
“म बजारमा बस्छु तर मन दिनहुँ गाउँमै हुन्छ,” कँडेल भन्छन्, “अहिले सुन्तला टिप्ने बेला नजिकिँदै छ, चोर लाग्ने डर हुन्छ, त्यसैले झन् गाउँ धाउनुपर्छ।” कँडेलको सुन्तलाखेतीले बसाइँसराइले रित्तिँदै गएको गाउँमा पनि सम्भावना अझै बाँकी रहेको सन्देश दिएको छ।
मुख्य बुँदा:
सुदूरपश्चिमको २०% जनसङ्ख्या कञ्चनपुरमा
पुरुषको संख्या कम, महिलाको बढी — विदेश रोजगारी मुख्य कारण
पाँच पहाडी जिल्लाको जनसङ्ख्या घट्दो, दार्चुलाको वृद्धिदर शून्य
बसाइँसराइका कारण तराईमा चाप, पहाडमा बाँझो जमिन
कृषियोग्य भूमि घट्दा उत्पादनमा कमी र आयात निर्भरता बढ्ने जोखिम
कृषि क्षेत्रको योगदान ३०%, उत्पादन घट्दा अर्थतन्त्रमा असर
कञ्चनपुर, २९ साउन । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ ।
नेपालको जनगणना २०७८ अनुसार प्रदेशमा २६ लाख ९४ हजार ७ सय ८३ जनसङ्ख्या छ । त्यसमध्ये महिलाको १४ लाख २१ हजार ९९७ छ भने पुरुषको जनसङ्ख्या १२ लाख ७२ हजार ७ सय ८६ रहेको छ ।
यस प्रदेशबाट धेरै जना पुरुष रोजगारीका लागि भारत र तेस्रोदेशसमेत जाने गरेकाले अन्य प्रदेशको तुलनामा पुरुषको जनसङ्ख्या कम र महिलाको जनसङ्ख्या बढी देखिएको हो ।
तथ्याङ्कअनुसार यहाँ महिलाको जनसङ्ख्या ५२ दशमलव ७७ र पुरुषको जनसङ्ख्या ४७ दशमलव २३ प्रतिशत रहेको छ । प्रदेशका नौ जिल्लामध्ये तराईका दुईवटा र दुईवटा पहाडका बाहेक पाँचवटा जिल्लाको जनसङ्ख्या घट्दो अवस्थामा छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको जनगणनाअनुसार अछाम, बैतडी, डोटी, बझाङ, डडेल्धुरा जिल्लाको जनसङ्ख्या हरेक वर्ष घट्दो अवस्थामा छ । हिमाली जिल्ला दार्चुलाको जनसङ्ख्या वृद्धिदर स्थिर अर्थात् शून्य प्रतिशत छ ।
तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार अन्य प्रदेशको सुदूरपश्चिम प्रदेशमा पनि पहाडी र हिमाली ठाउँबाट मानिसहरू तराई(मधेशतिर झर्ने प्रवृत्ति बढेकाले जनसङ्ख्या वितरणमा समस्या देखिएको हो ।
अन्न उत्पादनको भण्डारका रूपमा चिनिने तराईमा बढ्दो जनसङ्ख्याले कृषियोग्य भूमि घट्दै गइरहेको छ । जनसङ्ख्या व्यवस्थापनका लागि प्रदेश र पालिकाले बेलैमा ध्यान दिन विज्ञहरुको सुझाव छ । तराईमा बढ्दो जनसङ्ख्याले कृषि उत्पादन क्षेत्र घटिरहेको र पहाडमा बाँझो जमिन बढिरहेको अवस्थाले समयमै उपयुक्त नीति अख्तियार नगरे निकट भविष्यमा आयातको दायरा थप बढ्नेतर्फ चिन्ता थपेको छ ।
विज्ञहरूका अनुसार सुदूरपश्चिमको जिडिपीमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत रहेकाले उत्पादन घट्दा यहाँको अर्थतन्त्रमा पनि सङ्कुचन आउने देखिन्छ । रासस